• १५ चैत २०८०, बिहिबार

तेस्रो पटक म्याद थपिदिन माग

blog

मीना कँडेल

कावासोती, जेठ ९ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न माग गरिएको छ। कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तेस्रो पटक म्याद थपिदिन माग गरेको हो। पूर्व पश्चिम नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताउनुभयो। 

गत वर्ष साउन २२ गते आयोजनाको म्याद सकिएपछि भदौ ११ गते थप एक वर्षका लागि थपिएको थियो। उहाँले भन्नुभयो, “हामीले डेढ वर्ष म्याद थपका लागि नेपाल सरकारसँग आग्रह गरेका छौँ, नयाँ ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने हो भने १० वर्षमा पनि काम सकिँदैन, त्यसैले सडक विभाग र कन्सल्ट्यान्ट कम्पनीको रायको आधारमा म्याद थपिने कुरामा आशावादी छौँ।” 

कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनियाँ ठेकेदार कम्पनीले जनाउँदै आएको छ। चिनियाँ कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने–गैँडाकोट खण्डका प्रमुख इन्जिनियर आशिष थापामगरले जानकारी दिनुभयो। पूर्वी खण्डमा पर्ने नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर सडकमा अहिलेसम्म सात किलोमिटर कालोपत्रे गरिएको उल्लेख गर्दै झाले असार मसान्तसम्म करिब १० किलोमिटर सडक कालोपत्रे सम्पन्न गरिने बताउनुभयो।

 पूर्वी खण्डमा पर्ने २२ वटा साना पुलको काम अन्तिम चरणमा पुगेको बताउँदै झाले अघिल्लो वर्ष जस्तो अहिलेको वर्षायाममा डाइभर्सनमा समस्या नहुने दाबी गर्नुभयो। जिल्लाका स्थानीय तहसँगको समन्वयमा पायक पर्ने खोला तथा नदीबाट कम्पनीले निर्माण सामग्रीको खरिद गरेर आयोजनाको कामलाई अगाडि बढाएको प्रोजेक्ट म्यानेजर झाले जानकारी दिनुभयो। 

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ। बस्ती क्षेत्रमा सडक छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार गरिरहेको छ।