• ७ वैशाख २०८१, शुक्रबार

संरक्षण गर्न किसानलाई याक वितरण

blog

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ । 

गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२ जना किसानलाई याकको बाच्छा खरिद गरेर वितरण गरेको हो । पछिल्लो समय पशुपालन व्यवसाय घट्दै गएको पाइएकाले किसानलाई प्रोत्साहन गरी पशुपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि याकका बाच्छा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त कार्कीले बताउनुभयो । जनशक्तिको अभाव, आधुनिक जीवनशैली, चरन क्षेत्रको अभावलगायत कारण पछिल्लो पशुपालन व्यवसाय घट्दै गएको पाइन्छ ।

गाउँपालिकाले गत वर्ष ३२ वटा याकका बाच्छा किसानलाई बाँडेको थियो । गाउँपालिकाले यसरी बाच्छा खरिद गरेर दिन थालेपछि पशुपालक किसान उत्साहित बनेको गाउँपालिकाले जनाएको छ । यो वर्ष ८ लाख रुपियाँको लागतमा १२ जना पशुपालक कृषकलाई याक वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कार्की सहितको टोलीले विभिन्न क्षेत्रमा रहेका गोठमै पुगेर वितरण गरेको बताइएको छ ।

विशेष गरी गाउँपालिकाभित्र पर्ने पापुङका किसानले याक पालन गर्दै आएका छन् । गाउँपालिकाभर ४४ वटा याक गोठ रहेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालकलाई प्रोत्साहन गर्ने गरी याक वितरणको कार्यक्रम बनाएको उहाँले बताउनुभयो । पशुपालन व्यवसायबाट राम्रो आमदानी लिन सकिने भएकाले किसानलाई आत्मनिर्भर बनाउने यो कार्यक्रमले सहयोग पुग्ने र निरन्तरता दिने अध्यक्ष कार्कीले बताउनुभयो । रासस