अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ७ गते । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।
अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठे भीर, अन्नपूर्ण गाउँपालिका–२ तातोपानी र भुरुङ खोलामा अवरुद्ध भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर एवम् अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार सडक सुचारु गर्न प्रयास भइरहेको भए पनि समय लाग्ने देखिएको छ । मोटरेबल पुलमै क्षति पुगेको हुनाले तत्कालै सोझो सवारी सञ्चालन हुन समय लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाका अनुसार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पुल भाँचिएको छ । उक्त पुलको ठाउँमा हिमपाइप राखेर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
त्यस्तै गुइँठे भीरमा भारतीय नागरिक सवार गाडी पनि क्षति पुगेको छ । मुक्तिनाथ दर्शन गरेर फर्केको भारतीय नम्बर प्लेटको गाडी वर्षा भएपछि यात्रु झरेर गाडी त्यही छाडेर हिँडेकोमा वर्षापछिको बाढीले क्षति पुर्याएको लामाको भनाइ छ ।
एचआर ६८ सी ८०५५ नम्बरको २६ सिट क्षमताको १३ महिला १३ पुरुष लिएर आएको गाडीमा ढुङ्गा माटोले पुरिएर क्षति पुगेको र त्यसलाई बिहान डोजरको सहायताले निकालिएको उहाँको भनाइ थियो । सडक र सवारीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको लामाको भनाइ छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुस्ताङ क्षेत्रमा कुनै अवरोध नभए पनि म्याग्दी खण्डमा भएको समस्याले सिधा यातायात सञ्चालनमा समस्या भएको बताउनुभयो ।