• २७ पुस २०८१, शनिबार

नगरका अधिकांश विद्यालयमा बालमैत्री धारा

blog

हेर्नेमाढु आधारभूत विद्यालयमा निर्माण भएका बालमैत्री धारामा पानी पिउँदै विद्यार्थी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ ६ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा बालमैत्री धारा निर्माण भएका छन् । आधारभूत विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएका हुन् ।

तिलागुफा नगरपालिका वडा नम्बर ८ मा रहेको हेर्नेमाढु आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चँदाराले किर्डाक नेपालले विद्यालयमा खानेपानी पु¥याएकाले बालबालिकालाई राहत भएको बताउनुभयो । दलित समुदायको बाहुल्यता रहेको उक्त विद्यालयमा दुई कोठाको पक्की भवनसहित खानेपानी सहयोग गरेकोमा किर्डाक नेपाल सहयात्रा परियोजनालाई धन्यवाद दिनुभयो । 

अहिले कालीका माध्यमिक विद्यालय राँचुली, हेर्नेमाढु आधारभूत विद्यालय ओखरभिटा, कलास आधारभूत विद्यालय छाप्रे, सत्यदेव आधारभूत विद्यालय जुबिथालगायतका २२ विद्यालयमा बालमैत्री धारासहितको पिउने पानी र शौचालय निर्माण भएका छन् । 

नगरका ३७ वटा विद्यालयमा विभिन्न शैक्षिक सहयोग पुगेको छ । नगरका शिक्षा शाखामा कार्यरत विद्यालय श्रोत व्यक्ति नविन हमालले गैरसरकारी संस्था किर्डाकलगायतले सहयोग गरिरहेको बताउनुभयो ।