• १२ असोज २०८१, शनिबार

सिमकोटमा खानेपानीको हाहाकार

blog

खानेपानीको समस्या हुन थालेपछि ग्यालेन लाइनमा राखेर पानी भर्दै उपभोक्ताहरु । तस्विर : राजन रावत, हुम्ला

राजन रावत 

हुम्ला, जेठ ५ गते । सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार बढेको छ । खानेपानीको मुहानमा पानीको श्रोत कम भएपछि घरमा जडान गरिएका धारा सुकेपछि खानेपानीको समस्या बढ्दै गएको हो । 

सिमकोट बजारका आङ्टेण्डी सेर्पाले धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको बताउनुभयो । खानेपानी धारामा आउन छोडेपछि उपाभोक्ताहरु जुन धारामा पानी आउने गर्छ त्यस धारमा लाइनमा बसेर पानी भर्न बाध्य भएका छन् । उहाँले कति दिन त सिमकोट गाउँपालिका– ६ को बीस मिनेट टाढाको तीन धारामा गएर पानी भरेर ल्याउन परेको बताउनुभयो । यसरी सिमकोटमा एक महिना अगाडीदेखि खानेपानीको समस्या देखिँदै आएकोमा यो समस्या दैनिक रूपमा बढ्दै जाँदा खानेपानीको हाहाकार हुन थालेको हो । 

सदरमुकाम सिमकोटलाई खानेपानीको व्यवस्था गर्दै आएका खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्य्र रोकायाले मुहानमा पानीको श्रोत कम भएपछि खानेपानीको व्यवस्था गर्न समस्या भइरहेको बताउनुभयो । सिमकोटको खानेपानीका लागि दुई वटा मुहानबाट पानीको हुँदै आएकोमा दुबै मुहानमा पानीको श्रोत कम हुँदा समस्या भएको हो । उहाँले सात लाखभन्दा बढी लिटर पानी सिमकोट बजारमा आवश्यक पर्ने गरेकोमा साढे तीन लाखभन्दा कम पानी मुहानबाट आर्पुती हुन थालेपछि समस्या भएको बताउनुभयो । 

यो समस्या जेठ महिनाबाट लागेको र असार बाँकी नै भएको कारण अझै खानेपानीको समस्या बढ्दै जाने देखिएको छ । वितरण गर्ने गरिएको पानी पनि बिहान र बेलुकाको समय व्यवस्था गर्ने गरिएको छ । यसका लागि पचास हजार लिटर क्षमताका दुई वटा र बीस हजार लिटर क्षमताका चार वटा रिजर्भभार ट्याङ्कीबाट पानी वितरण गरिँदै आएको छ । यसबाट समितिले चार सय निजी धारा र सात वटा सार्वजनिक धारामा पानी वितरण गरिँदै आएको छ ।