• २७ पुस २०८१, शनिबार

स्वयं सेवाका लागि स्काउट सदस्य बढाइने

blog

गोकर्ण पौडेल 

तुलसीपुर, जेठ ३ गेत । पछिल्लो समयमा सामाजिक सेवातर्फ विद्यार्थीहरूमा चासो घटेको भन्दै स्वयं सेवाका लागि स्काउट सदस्य बढाउन थालिएको छ । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरले पहिलो चरणमा दाङ जिल्लाका दश वटै पालिका र रुकुम पूर्वका तीन वटा पालिकाका विद्यालयमा अध्ययनरत शिक्षकहरूलाई स्काउट सदस्य बढाउनका लागि प्रशिक्षण सुरु गरेको हो । 

विद्यार्थीहरूमा नैतिक शिक्षा र स्वयं सेवा अभिवृद्धि लागि दुई जिल्लाका पालिकामा रहेका विद्यालयका शिक्षक शिक्षिकाहरूलाई प्रशिक्षण सुरु गरिएको हो । सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीले विद्यालय स्तरमा पहिलो चरणमा शिक्षक शिक्षिकाहरूलाई प्रशिक्षण दिइने र त्यहीबाट विद्यार्थीहरूलाई स्वयम सेवाका लागि प्रशिक्षणको व्यवस्था गर्न थालिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सामाजिक मूल्य, मान्यता र संस्कार स्थापित गर्नका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षा अनिवार्य रहेको बताउनुभयो । उहाँले तत्कालै स्काउट शिक्षालाई पाठ्यक्रममै समावेश गरेर कार्यान्वयनमा लैजाने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्काउट सम्बन्धी स्थानीय पाठ्यक्रममै समावेश गरिएको बताउनुभयो । उहाँले पछिल्लो समयमा विद्यार्थीहरूमा स्वयं सेवा र नैतिकता, सद्भाव जस्ता विषयमा विद्यार्थीहरूमा प्रशिक्षणका लागि स्काउट शिक्षा अनिवार्य रहेको बताउनुभयो । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सुजन खनालले देश सङ्घीयमा गएसँगै स्काउटमासमेत स्थानीय नगर समितिको व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्वयं सेवा भावका लागि प्रत्येक विद्यालयमा स्काउट शिक्षक अनिवार्य रहेको बताउनुभयो ।