नागेन्द्रकुमार कर्ण
महोत्तरी, पुस १ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नगरपालिकामा रहेका किसानहरुलाई लक्षित गरि अनुदानमा उन्नत जातका गहुँका बिउ तथा हिउँदे घाँस वितरण सुरु गरेको छ । नगरपालिकाले किसानहरुलाई लक्षित गरि सुरुदेखि नै विभिन्न कार्यक्रम गर्दै आएकोमा सो को निरन्तरता स्वरुप उन्नत जातको गहुँको बिउ तथा हिउँदे घाँस वितरण सुरु गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाका किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बिउ वितरण गर्न शुरु गरिएको बताउनुहुँदै नगरप्रमुख मण्डलले यसले उत्पादन र उत्पादकत्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
किसानको आयआर्जन बढाउन तथा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न नगरपालिकाले प्राथमिकताका साथ कृषि क्षेत्रलाई सहयोग गर्दै आएको बताउनुहुँदै उहाँले सोही निरन्तरता स्वरुप यो कार्य अगाडि बढाइएको बताउनुभयो ।
नगरपालिकाको कृषि शाखाकी प्रमुख सन्ध्या साहका अनुसार पालिका भित्रका करिब ५०० जना गहुँ खेती गर्ने किसानहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको बताउनुहुँदै बिउ वितरण कार्यले किसानलाई राहत पुग्ने र आगामी सिजनमा गहुँ उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कृषि शाखाका सह–संयोजक टङ्कप्रसाद उपाध्यायले वडाको सिफारिसको आधारमा किसानको नागरिकताको प्रतिलिपि सङ्कलन गरी गहुँको बीउ वितरण भइरहेको बताउनुहुँदै वास्तविक किसानलाई मात्रै अनुदानको सुविधा पुर्याउने उद्देश्यले आवश्यक प्रक्रिया अपनाइएको बताउनुभयो । यसले गहुँ गर्ने किसानहरुलाई मात्रै फाइदा पुग्ने भएकोले गहुँको बीउ आवश्यक पर्ने किसानहरुले वडाबाट सिफारिस लिएर आउन आग्रह गर्नुभयो ।
यसैबिच, मटिहानी नगरपालिकाले स्थानीय पशुपालक किसानहरूको पशुपालन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले हिउँदे घाँसको बीउ वितरणसमेत सुरु गरेको छ । पशु आहारको अभाव न्यूनीकरण गर्दै दुध, मासु तथा पशुपालनबाट हुने आम्दानी वृद्धि गर्ने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पशुपालन क्षेत्र किसानहरूको जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएकोले नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सहयोगमूलक कार्यक्रमहरू अघि बढाइरहेको बताउनुभयो । उहाँले हिउँदे समयमा हरियो घाँसको अभाव हुने भएकाले यस किसिमको बिउ वितरण कार्यक्रमले किसानहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पशु सेवा शाखा मटिहानीद्वारा सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका करिब ५ सय जना पशुपालक कृषकहरूलाई बर्सिङ (बरसिम) र जौको हिउँदे घाँसको बिउ वितरण गरिने पशु सेवा प्राविधिक दिलीपकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यी घाँसहरू पोषणयुक्त, छिटो बढ्ने र पशुका लागि उपयोगी भएकाले पशुपालनको उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कलिम अन्सारी, पशु सेवा शाखा प्रमुख दिलीप यादव, स्थानीय जनप्रतिनिधि तथा किसानहरुको उपस्थिति थियो ।