चाँदनी आचार्य
घोडाघोडी(कैलाली), पुस १ गते । दुई वर्ष खाडी मुलुक साउदीमा बसेर पसिनाको मूल्य बुझेका बर्दगोरिया गाउँपालिका २ दोधराका चुन्नु कठरियाले नेपाली माटोमै सुन फलाउने अठोटका साथ कृषिकर्ममा लागेको एक दशक भइसक्यो । उहाँले व्यावसायिक खेतीपातीलाई बढाउँदै लानुभएको छ ।
एक बिघा दश कट्ठाबाट सुरु भएको व्यावसायिक फलफूल तथा तरकारी खेतीको दायरा बढाउँदै अहिले उहाँले पाँच बिघा क्षेत्रफलमा पुर्याउनु भएको छ ।
४० वर्षीय चुन्नुले उत्साहित हुँदै भन्नुभयो, “सुरुमा ठुलो लगानी लगाउन समस्या थियो । सानोबाट सुरु गर्दै अहिले दश÷बाह्र वर्ष भयो व्यावसायिक खेतीमै छु । अहिले साढे पाँच बिघा जमिनमा आलु र केरा लगाएको छु ।”
आफ्नो जमिन नभएका चुन्नुले सबै जमिन ठेक्कामा लिएर व्यावसायिक खेती गर्नुभएको हो । उहाँले वार्षिक ४० हजार प्रति बिघाको दरले ठेक्कामा जमिन लिएको बताउनुभयो।
सुरुमा केरा खेती गरेका चुन्नुले पछिल्लो समय आलु खेतीमा आम्दानी राम्रो देखेपछि व्यवसाय बढाउनुभएको हो । उहाँले लट केरा खेती गरि सकेपछि अहिले तेस्रो लट केरा रोप्नुभएको छ । बर्दगोरिया र लम्कीचुहा नगरपालिकामा जग्गा ठेक्कामा लिएर तरकारी तथा फलफूल खेती गरेका चुन्नुलाई गतवर्ष आलुले धोका दियो ।
बिउ राम्रो नपरेपछि आलु सोचे जति फलेन । गतबर्ष घाटा नभए पनि फाइदा आउन सकेन । त्यसैले यसवर्ष उहाँले गतवर्षको फाइदा उठाउने गरी नयाँ तरिकाले खेती गर्नुभएको छ ।
चुन्नु भन्नुहुन्छ, “फाइदाबाट नै ठेक्का बुझाउने हो । गत वर्ष फाइदा नभएपछि यसवर्ष यसो आइडिया लगाएँ । केराको बेर्ना आउन ढिला भएकाले लगाउन ढिला भयो । केराको बिच बिचमा खुर्सानीको बेर्ना रोपेँ । बिचको खाली जमिनमा आलु रोपेको छु । केराका बेर्ना हुर्कदै छन् । खुर्सानी फलेर पनि दैनिक ५० किलो उत्पादन दिन्छ । आलु मङ्सिरको अन्तिमसम्म खन्ने हुन्छ । खुर्सानीको आम्दानीले गतवर्षको नाफालाई पूर्ति गर्याे ।”
चुन्नुले केरा फल्न डेढवर्ष लाग्ने भएकाले केराले आम्दानी नदिदाँसम्म आम्दानीको विकल्पमा केरासंगै खुर्सानी र आलु लगाएको बताउनुभयो ।
उहाँले यो वर्ष पाँचसय क्विन्टल आलु उत्पादन हुने बताउनुभयो । टिपेस र एलबाेस्टन जातको आलु लगाएका चुन्नुले आलुको बजारीकरणमा समस्या नभएको सुनाउनुभयो । उहाँले एलबाेस्टन आलु चिप्स बनाउन प्रयोग हुने भएकाले कम्पनीलेनै बिउ दिने र उत्पादन सबै कम्पनीलेनै उठाउने उल्लेख गर्नुभयो ।
अहिले आठ कक्षासम्म अध्ययन गरेका चुन्नुको कृषिकर्ममा श्रीमती प्रेमपति चौधरीले पनि साथ दिनुभएको छ । चुन्नुले व्यावसायिक आलु, केरा खेतीसँगै व्यवसायी बङ्गुर पालनसमेत गर्नुभएको छ । उहाँले बङ्गुरका पाठापाठी बेचेर राम्रो आम्दानी गरेको बताउनुभयो । प्रेमपतिले भन्नुभयो, “श्रीमानले खेतीपातीमा ध्यान दिनुहुन्छ । म बङ्गुरको रेखदेखमा समय दिन्छु । बङ्गुरका पाठापाठी बेच्न थालेको पाँच वर्ष भइसक्यो ।”
चुन्नुले व्यवसायी कृषी कर्मबाट सन्तुष्ट भएको बताउनुभयो । उहाँले व्यवसायी खेतीबाटको आम्दानीबाट नै दुईतलाको पक्की घर बनाउन सफल भएको सुनाउनुभयो । दुई छोरीहरु संस्थागत विद्यालयमा पढ्दैछन् ।
प्राकृतिक विपत्, किराको सङ्क्रमण नहुने हो र समयमै राम्रो बिउ मलको सुविधा हुने हो भने नेपालमा कृषिमा राम्रो आम्दानी गर्नसकिने अनुभव चुन्नुले सुनाउनुभयो । उहाँले भन्नुभयो “ राम्रो गर्नेलाई सरकारले पनि पचास "प्रतिशत अनुदान कृषिमा दिन्छ । मैले पनि बिउमा अनुदान पाएको छु ।”