तम्घास समाचारदाता
तम्घास (गुल्मी), पुस १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकेन्द्रित शान्तिसुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको छ ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार विपत्का घटनासँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचना आदानप्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रित रहेर गुल्मी, अर्घाखाँची र प्युठानका सुरक्षा निकायका प्रमुखबिच प्युठानमा समन्वय बैठक बसेको उहाँले बताउनुभयो । समन्वय बैठकले अन्तरजिल्लास्तरीय सुरक्षा, विपत्का घटनामा समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्न पनि ठुलो भूमिका निर्वाह गर्ने उहाँको दाबी छ ।
अन्तरजिल्लास्तरीय सुरक्षा बैठकले तीन जिल्लाका सुरक्षा प्रमुखबिच समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्नुका साथै सीमा जोडिएका जिल्ला भएकाले निर्वाचनकेन्द्रित सूचना आदानप्रदान गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ । सम्भावित विपत्का घटनामा सहयोग, चोरीपैठारी र तस्करी नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीलाई पक्राउ गर्नका लागि समन्वय बैठकको उपलब्धि हुने विश्वास लिइएको छ । यसका साथै अन्तरजिल्लास्तरीय सुरक्षा बैठकले आपसमा मेलमिलाप र सम्भावित अपराधलाई नियन्त्रण गर्न टेवा पुग्ने छ ।
गुल्मी जिल्लासँग सीमा जोडिएका छिमेकी जिल्लाका सुरक्षा निकायका प्रमुखसँग समन्वय बैठकलाई निरन्तरता दिँदै जाने गैरेले बताउनुभयो । यसका साथै जिल्ला सुरक्षा समिति गुल्मीले जिल्लाका मतदान स्थलको समेत अनुगमन र निरीक्षण गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ । गैरेका अनुसार १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको छ ।