बुटवल समाचारदाता
बुटवल, पुस १ गते । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी एकसाथ अघि बढाएको छ । एकातिर पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले अधिवेशनका लागि पदाधिकारी र सदस्य पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कातिर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
लुम्बिनी प्रदेशमा समेत आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया जारी राखेको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार क्षेत्रीय समितिले सिफारिस जिल्ला कार्यसमितिमा पठाउने र जिल्ला कार्यसमितिले ती सिफारिस प्रदेश कार्यसमितिमा पठाउने व्यवस्था गरिएको छ ।
लुम्बिनी प्रदेश सभापति अमर पुनका अनुसार प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म सात जिल्लाबाट सिफारिस उम्मेदवार प्रदेश पार्टी कार्यालयमा प्राप्त भइसकेको छ । उहाँले बाँकी पाँच जिल्लाबाट सिफारिस आउने प्रक्रिया जारी रहेको जानकारी दिनुभयो ।
कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेश कार्यसमितिमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको थियो तर बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देहीबाट अहिलेसम्म सिफारिस आइपुगेको छैन । ती जिल्लामध्ये केही स्थानमा क्षेत्रीय समितिबाट सिफारिस प्राप्त भए पनि जिल्ला कार्यसमितिले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ । केही जिल्लामा भने अझै अन्तिम निर्णय टुङ्गो लाग्न सकेको छैन । सभापति पुनका अनुसार कतिपय स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसके पनि जिल्ला तहमा बुझ्ने र समन्वय गर्ने क्रममा ढिलाइ भएको हुन सक्ने देखिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । अर्घाखाँची, रोल्पा र रुकुमपूर्वमा भने एक/एक मात्र निर्वाचन क्षेत्र छन् । क्षेत्रीय समितिबाट आएका सिफारिस जिल्ला हुँदै प्रदेश कार्यसमितिमा पठाइनुपर्ने व्यवस्था रहेको कांग्रेसले जनाएको छ ।