• १ पुस २०८२, मङ्गलबार

ट्रम्पपछि इयुको नयाँ यथार्थ

blog

ब्रसेल्स, पुस १ गते । सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसा योग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाट युरोपेली सङ्घ (इयु)को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यमाथि दबाब बढ्दै गएको छ ।

यही परिवेशमा यस हप्ता हुने इयु शिखर सम्मेलन असाधारणरूपमा महत्वपूर्ण मानिएको छ, जसले कठिन वर्षको अन्त्यतर्फ सङ्केत गरेको छ । गत हप्ता युरोपमा रहेका रुसी सम्पत्तिमा अनिश्चितकालीन लगाएपछि इयु नेताले बिहीबार हुने शिखर सम्मेलनमा शक्ति र एकताको नयाँ परीक्षा सामना गरिरहेका छन् । 

युक्रेन गम्भीर आर्थिक सङ्कटमा परेकाले सम्भवतः नयाँ क्षतिपूर्ति ऋणको माध्यमबाट नेताले आगामी दुई वर्षका लागि किएभको आर्थिक तथा सैन्य आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भन्नुभयो, “यो युरोप र युक्रेन दुवैका लागि सङ्कटको समय हो । युक्रेनी अर्थतन्त्रलाई सुरक्षित गर्नु मात्र होइन, ह्वाइट हाउससहित विश्व समुदायलाई युरोप एक बलियो भू-राजनीतिक खेलाडी हो भन्ने सन्देश दिन पनि यो निर्णय आवश्यक छ ।” 

हाल डेनमार्कले युरोपेली सङ्घ (इयु)को घुमाउरो अध्यक्षता गरिरहेको छ । महादेशमा दशकौँ यताकै ठूलो युद्ध स्थल जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धम्की, युरोपको अति–दक्षिणपन्थीप्रति उहाँको समर्थन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको निकटताले युरोपेली नेतालाई निरन्तर दबाबमा पारेको छ । सुरुआती चरणमा युरोपेली नेताले चाप्लुसीपूर्ण प्रतिक्रिया दिए पनि पछिल्ला महिनामा त्यो क्रम घट्दै गएको देखिन्छ ।

जनवरीदेखि ट्रम्पले कहिले युक्रेन र कहिले रुसप्रति झुकाव देखाउँदै धारणा परिवर्तन गर्नु भएको छ । उहाँले युरोपको आलोचना बारम्बार गर्नु भएको छ र त्यो आलोचना अझ कडा बन्दै गएको छ । यद्यपि युरोपेली नेताले युक्रेनका लागि सैन्य सहयोग बढाएका छन्, उनीहरू स्वीकार गर्छन् कि संयुक्त राज्य अमेरिका अपरिहार्य साझेदार हो र पुटिनसँग शान्ति वार्ता गर्न सक्ने एकमात्र पश्चिमी नेता ट्रम्प नै हुनुहुन्छ ।

जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले चेतावनी दिँदै भन्नुभयो, “हामी अहिले निर्णायक मोडमा छौँ । अब पहिले जस्तो अवस्था छैन, फरक समय आएको छ र फरक प्रतिक्रिया आवश्यक छन् ।” ट्रम्प पुनः सत्तामा फर्किएको केही हप्तामै अमेरिकी प्रशासनले युरोपले अब आफ्नो सुरक्षा र युक्रेनको जिम्मेवारी आफैँ लिनुपर्ने सङ्केत दिएको थियो । उपराष्ट्रपति जेडी भान्सले जर्मनीमा अति-दक्षिणपन्थी नेतासँग भेट गर्दै युरोपमा अभिव्यक्ति स्वतन्त्रता कमजोर भएको र चुनावी हस्तक्षेप भएको आरोप लगाउनुभयो । 

यिनै विचार अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा समेत समेटिएका छन्, जहाँ इयुका आप्रवासन नीतिमाथि कडा आलोचना गरिएको छ । कार्नेगी युरोप थिङ्क ट्याङ्ककी जुडी डेम्प्सीले भन्नुभयो, “युरोपसँग प्रतिक्रिया दिनुबाहेक अब अर्को विकल्प छैन । यो अमेरिकी प्रशासनले साझेदारलाई कस्तो व्यवहार गर्छ भन्ने कुरा सबैले बुझिसकेका छन् ।”

गत महिना सार्वजनिक भएको ट्रम्प प्रशासनको युद्ध अन्त्यसम्बन्धी २८ बुँदे योजनाले युरोपलाई थप चिन्तित बनाएको छ । रुससँग मिलेर तयार गरिएको उक्त योजनामा क्रेमलिनका पुराना माग समेटिएको भन्दै युक्रेन र उसका युरोपेली समर्थकले अस्वीकार्य मानेका छन् । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने ट्रम्पलाई युक्रेन युद्धका कारण बुझ्ने एक मात्र पश्चिमी नेता भनेर प्रशंसा गर्नुभएको छ ।

यसै वर्ष ट्रम्पले व्यापक भन्सार शुल्क घोषणा गर्दै आर्थिक आपतकाल घोषणा गर्नुभयो । जुलाईमा अमेरिका र इयुबिच धेरै सामानमा १५ प्रतिशत भन्सार दर तय गर्ने सहमति भए पनि युरोपले यसलाई युक्रेनप्रतिको अमेरिकी समर्थन जोगाउने मूल्यका रूपमा स्वीकार गरेको देखिन्छ । व्यापार तनावका बाबजुद नाटोमा युरोपेली देशले रक्षा खर्च कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५ प्रतिशत पुर्‍याउने ट्रम्पको मागमा सहमति जनाएका छन् । 

इयुले भने सन् २०३० सम्म बाह्य आक्रमणबाट आफूलाई जोगाउन सक्षम हुने लक्ष्य लिएको छ । अधिकारीका अनुसार यदि युक्रेन पराजित भयो भने पुटिनले तीनदेखि पाँच वर्षभित्र युरोपका अन्य भागमा आक्रमणको आदेश दिन सक्नुहुन्छ । यही पृष्ठभूमिमा बिहीबार हुने इयु शिखर सम्मेलन आगामी दुई वर्षका लागि युक्रेनको अर्थतन्त्र र सैन्य प्रयासलाई वित्त पोषण गर्ने विषयमा केन्द्रित छ । 

यो बैठक संयुक्त राज्य अमेरिकाबिनै अघि बढ्ने अर्को निर्णायक कदमका रूपमा हेरिएको छ । बैठकका अध्यक्ष, इयु काउन्सिलका एन्टोनियो कोस्टाले सहमति नभएसम्म नेतालाई ब्रसेल्समै केही दिन राख्ने सङ्केत गर्नुभएको छ । रासस/एपी