• २१ वैशाख २०८१, शुक्रबार

बागमती प्रदेश खेलकुद जेठ ७ गतेदेखि

blog

हेटौंडा, जेठ २ गते । बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ ।  प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगीताका लागि नौ करोड ४२ लाख रुपियाँ खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडौँमा, पौडी ललितपुरको सातदोबाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ ।

फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताउनुभयो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले गर्नुहुने तय भएको  छ ।

प्रतियोगितामा विभिन्न विद्यामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । (रासस)