• २ पुस २०८२, बुधबार

किशोरीको वृत्तिविकासमा लगानी बढाउनुपर्ने

blog

सुर्खेत समाचारदाता 

सुर्खेत, पुस २ गते । कर्णालीका किशोरी तथा महिलामाथि लगानी बढाउन सुझाव दिइएको छ । किशोरी तथा महिलामाथि विशेष गरी शिक्षा, स्वास्थ्य र आयआर्जनमा लगानी बढाउन सुझाव दिइएको हो । संयुक्त राष्ट्रसङ्घ, युनिसेफ, युरोपियन युनियनलगायतले मङ्गलबार सुर्खेतमा आयोजना गरेको ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाबारेको कार्यक्रममा विगतमा किशोरी तथा महिलामा लगानी कम भएकाले आगामी दिनमा यिनीहरूलाई सशक्त बनाउन लगानी बढाउनुपर्ने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका सङ्गीता यादवले किशोरी तथा महिलामाथि लगानी बढाउने, सशक्त बनाउनका लागि कर्णालीका १० वटा पालिकामा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना लागु गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार सो कार्यक्रम कर्णालीका पाँच जिल्लाका १० पालिकामा लागु छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका, डोल्पाको ठुली भेरी नगरपालिका र रुकुमपश्चिमको सानी भेरी गाउँपालिकामा सो परियोजना दुई वर्षअगाडिदेखि लागु छ । 

हालसम्म सो परियोजनाबाट कर्णालीका यी १० पालिकाका २२ हजार जनाले हानिकारक प्रथा रोकथामको सचेतना पाएको, १० पालिकामा स्याहार नक्साङ्कन तयार पारिएको, एक हजार तीन सय महिला तथा किशोरीले आर्थिक सशक्तीकरणको सिप, बिउ पुँजी प्राप्त गरेको, चार पालिकामा बाल सुरक्षा संयन्त्र गठन गरिएको जस्ता महìवपूर्ण उपलब्धि हासिल गरिएको जानकारी उहाँले दिनुभयो । महिला तथा किशोरी शिक्षा, स्वास्थ्यमा पछाडि परेकाले आगामी दिनमा लगानी बढाउन सके उनीहरू रूपान्तरण हुने र सशक्तीकरणमा टेवा पुग्ने उहाँको भनाइ छ । 

यसै गरी युनिसेफका उपमा मल्लले कर्णालीमा बालविवाह, हिंसाको घटनामा बढोत्तरी भइरहेको पाइएको बताउनुभयो । युरोपियन युनियनका शिव भण्डारीले किशोरी तथा महिलामाथि गरिएको लगानी दीर्घकालीन हुने भएकाले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।