• २३ वैशाख २०८३, बुधबार

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

blog

बेरुत, वैशाख २३ गते । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाले जनाएका छन् । बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य सस्थामा गरेको आक्रमणमा घाइते भएका तीन जना चिकित्सकलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ । यसैबिच, हेजबुल्लाहले वादी अल-जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाविरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ । इजरायल र लेबनानबिच अप्रिल-१६ देखि लागु भएको युद्धविरामको बावजुद यो झडप भएको हो । रासस/सिन्ह्वा