चित्र कुमार मिजार
सिन्धुपाल्चोक, पुस २ गते । भोटेकोशी गाउँपालिका मार्मिङ र लिस्तिकोट दुई वडाको बिचमा अवस्थित द लास्ट रिसोर्टमा रहेको एक सय ६० मिटर उचाइमा रहेको बन्जी जम्पमा यसअघि सपाङ्ग मानिसहरुले मात्रै बन्जी जम्प गर्दे आएका थिए । तर अहिले उक्त बन्जी जम्पमा दुई अपाङ्गता भएका युवाहरुले ह्वीलचेयरमै बसेर बन्जी जम्प गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिले पनि बन्जी जम्प गर्न सक्छ र? भन्ने भ्रमलाई चिर्दे दुई अपाङ्गता भएका युवाहरुले बन्जी जम्प गरेर सक्छ भन्ने प्रमाणित गरिदिएका छन् । बुधबार ३४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर चौतारा साँगचोकगढी नगरपालिका–५ चौताराका ३६ वर्षीय दिलिप सापकोटा र सिन्धुलीका २५ वर्षीय शिशिर दाहालले बुधबार ह्वीलचेयरमै बसेर बन्जी जम्प गरेर अपाङ्गता भएका मानिसहरुले पनि बन्जी जम्प गर्न सक्छन् भन्ने काम विश्व सामू प्रमाणित गरेका छन् ।
नयाँ पुलमा अवस्थित बन्जी जम्पलाई एसियाकै तेस्रो प्राकृतिक साहसिक खेलका लागि मानिन्छ । एसियाकै साहसिक खेलमा मानिने नयाँ पुलमा हुने एड्भेन्चर ‘बन्जी’मा सापकोटा र दाहालले अन्य सपाङ्गता भएका मानिस झैं बन्जी जम्प गरेका हुन् । केही साता अघिदेखि दुवै जनाले बन्जी जम्पमा बन्जी गर्ने दृढ निर्णय गरेर आवश्यक कार्य प्रवन्ध गरेका थिए । उनीहरुको साहस र आत्मबलका कारण बन्जी जम्प गर्न सफल भएका हुन् ।
सापकोटा ‘ट्रान्सभर्स मिलिटिस’ रोगले १३ वर्ष अघिदेखि घाँटीदेखि तलको भाग नचल्ने अवस्थामा रहेका युवा हुन् । सापकोटाले प्याराग्लाइडिङ, बिनाह्वीलचेयर स्विङ, बिनाह्वीलचेयर बन्जी र ह्वीलचेयरमै बसेर जिपलाइन जस्ता कठिन खेल खेलिसक्नु भएको छ । अपाङ्गता भएका मानिसहरुले पनि हाइकिङ, टे«किङ र एडभेन्चर जस्ता खेल खेल्न पाउनु पर्छ भन्ने सन्देश दिनका लागि बन्जी जम्प गरेको सापकोटाले बताउनुभयो । सापकोटा अभिव्यक्ति उत्पादन, ग्राफिक्स डिजाइनका काम गर्नुहुन्छ । सापकोटाको आत्मबललाई जिल्लामा मात्रै नभई मुलुकभर चर्चा कमाउन सफल भएको छ ।
सापकोटाको मित्र तथा सिन्धुली कमलामाई–९ का दाहाल चार वर्षअघि मोटरसाइकल दुर्घटनामा पर्नु भई मेरुदण्ड पक्षघातले अपाङ्गता हुनुभएको थियो । अपाङ्गता भएका व्यक्तिले पनि हरेक कार्य गर्न सक्छन्, तर त्यस काम अपाङ्गतामैत्री बनाउन राज्य लाग्नका लागि सन्देश दिन बन्जी जम्प गरेको बताउनु हुन्छ । दाहाल कृषि उद्यम र नर्सरी व्यवसायमा आवद्ध छन् । दुवै जनाले एकैदिन बन्जी प्लेटर्फममा विशेष सुरक्षा मोडिफिकेसनसहित जम्प गरेका थिए । उहाँहरु दुवैले उक्त माध्यमबाट बन्जी जम्प गरेर सफल भएपछि नेपालमा पनि अपाङ्गतामैत्री साहसिक खेलकुदका गतिविधि सञ्चालन गर्न सम्भव छ भन्ने सन्देश गएको छ । आँट गरे अपाङ्गता भएका व्यक्तिले पनि जुनसुकै काम गर्न सक्ने सन्देश दिँदै अरु अपांगता भएका व्यक्तिलाई आत्मबल बढाउन उनीहरुको बन्जी जम्प गरेका हुन् ।