चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि मरिक फुटबल क्बल धरान सुनसरीले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा झापा, विर्तामोडको न्यु स्टार क्लबलाई ३–१ गोलले पराजित गर्दै धरानले उपाधि जितेको हो । धरानको जितका लागि विदेशी मूलका खेलाडी नानाले दुई र फोफोनाले एक गोल गर्नुभएको थियो ।
पहिलो हाफमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएका धरानका नानाले मध्यान्तरपछि एक गोल थप्नुभएको थियो । खेलको अन्तिम समयमा धरानका फोफोनाले गोल गर्नुभएको थियो ।
न्यु स्टारका तर्फबाट पनि विदेशी मूलकै खेलाडी अजेय मार्टिनले मध्यान्तरपछि खेलको सुरुवातमा सान्तवना गोल गर्नुभएको थियो । खेल अवधिभर आक्रामक खेले पनि थप गोल गर्न नसक्दा न्यु स्टार उपविजतामै सीमित भयो ।
उपाधि विजेता मरिक फुटबल क्लब धरानले तीन लाख ३२१ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्यु स्टार क्लब विर्तामोडले एक लाख ५० हजार ३२१ रुपियाँ नगदका साथ ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि तथा याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्तीको अवसरमा सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकस्थित तेल्लोक स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । क्लबद्वारा आयोजित पाँचौ संस्करणको यसपटकको प्रतियोगितामा विजेता र विजेतासहित आठ टोली सहभागी भएका थिए ।
क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार आयोजक तेल्लोक स्पोर्टिङ क्लब, इलामको रेडहर्ष फुटबल क्लब, वाईवाई पाँचथर फुटबल क्लब सहभागी भएका थिए ।
त्यस्तै, पाहुना टोली भारत, सिलिगुढीको पारिजात फुटबल सङ्घ, धनकुटाको साँघुरीगढी फुटबल क्लब र तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लब सहभागी भएका थिए । प्रतियोगिता गत मङ्सिर २३ गतेदेखि सुरु भएको थियो ।