• २ पुस २०८२, बुधबार

‘एक्लेसालको पहिरो’ व्यवस्थापनका लागि तीन करोड

blog

बागलुङ नगरपालिका–१० भकूण्डेस्थित एक्लेसालमा खसेको पहिरो । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, पुस २ गते ।
बागलुङ नगरपालिका–१० भकूण्डेस्थित एक्लेसालमा गएको भीमकाय पहिरोको दिगो समाधान गर्न काम थालिएको छ । पहिरोले मालढुङ्गादेखि बरेङ र छिमेकी गुल्मी जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा जोड्ने सडक एक्लेसालमा अवरुद्व हुँदा यात्रीले सास्ती खेप्दै आएका छन् ।

एक्लेसालको पहिरो नियन्त्रणका लागि पटक पटक भएका प्रयास असफल भएपछि गण्डकी प्रदेश सरकारको लगानीमा दिगो व्यवस्थापनको काम थालिएको हो । २०७६ सालको पहिरोले एक्लेसालमा वर्षेनी सडक अवरुद्ध बन्ने र वर्षातमा महिनौसम्म सडक ठप्पै हुने गरेको छ । पहिरो पन्छाउन बागलुङ र जैमिनी नगरपालिकाले लगानी गरेपनि दिगो व्यवस्थापन नहुँदा पटक पटक गरिएको करोडौं लगानी खेर गैरहेको छ ।

गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजित तीन करोड बजेटबाट पहिरोको मुख्य समस्या हटाउने तयारी गरिएको हो । त्यसका लागि गलुवाको विद्यालयदेखि पानीलाई दिगो रुपमा तर्काउने प्रयास थालिने छ ।त्यसपछि मात्र पहिरोमा पायल फाउण्डेसनसहित संरचना बनाएर सडक स्तरीय बनाउन सकिने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका आयोजना प्रमुख विदुरमान श्रेष्ठले बताउनुभयो ।

पहिलो चरणमा भकुण्डेको दह र द्वारादेखि बग्ने पानी व्यवस्थापन गरेपछि सडक बनाउनुपर्ने प्राविधिक सल्लाह अनुसार आयोजनाले चालु वर्षको तीन करोड बजेटले संरक्षणको काम गर्ने भएको हो । ‘‘पहिलो चरणमा पानीको व्यवस्थापन गरेर काठेखोलामा खसाउने काम गरेपछि मात्र सडक संरचनाको काम गर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखियो’’ श्रेष्ठले भन्नुभयो ।

पानी व्यवस्थापन पछि भने सडकको पायल फाउण्डेसन बनाएर संरचनामार्फत सडक सुधार गर्नुपर्ने प्राविधिक सल्लाह आएको छ । त्यसका लागि हालको पहिरोमा कम्तिमा १६ मिटर गहिरा खम्बा गाडेर चट्टानमा लगेपछि मात्र पहिरो नियन्त्रण गर्नुपर्ने र त्यसका लागि भने करोडौं रकम खर्च लाग्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।

मङ्गलबार गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीसहित आयोजना प्रमुख श्रेष्ठ र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले एक्लेसाल पहिरो र पहिरोदेखि माथिल्लो भागको स्थलगत अबलोकन गर्नुभएको थियो । अवलोकनपछि आयोजना प्रमुख श्रेष्ठले पहिरो नियन्त्रण र पानी व्यवस्थापन सम्भव भएको बताउनुभयो । ‘‘त्यसका लागि पहिलो चरणमा पानीको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडकको काम गर्ने सुझाव छ’’ सांसद सुवेदीले भन्नुभयो ।

‘‘हामीले हतार गरेर नभई दिगो व्यवस्थापनमा काम गर्ने हो, त्यसका लागि पहिलो चरणको काममा तीन करोड उपयोग गरिने छ’’ सांसद सुवेदीले भन्नुभयो । दोस्रो चरणको कामका लागि गण्डकी प्रदेश र सङ्घीय सरकारको बजेट व्यवस्थापनको छुट्टै काम गर्नका भौतिक पूर्वाधार र अर्थमन्त्रालयमा पहल गरिने सुवेदीले बताउनुभयो ।