• २ पुस २०८२, बुधबार

भूकम्पपीडितको तेस्रो हिउँद पनि टहरामै

blog

जाजरकोटको बारेकोट सिर्पाचौरका भूकम्पपीडित । तस्बिर सौजन्य : लोकेन्द्र विश्वकर्मा

शिवालय समाचारदाता

शिवालय (जाजरकोट), पुस २ गते । जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कात्तिक १७ गत बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु बनाउँदै आएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको थियो ।

सुरुमा उद्धार, राहत र अस्थायी आवास निर्माणमा तीव्रता दिएको जनाउने सरकारले पुनस्र्थापना र पुनर्निर्माणमा गरेको ढिलाइले अझै पनि कतिपय नागरिकले अस्थायी आवासबापतको दोस्रो किस्ताको रकमसम्म पाउन नसकेको गुनासो गरिरहेका छन् । 

जुनीचाँदे गाउँपालिका–२, मजकोटका दीपक शाहीको परिवार पनि सरकारले दिएको अस्थायी आवासबापतको रकमबाट बनेको एककोठे टिनको छानोमा कठ्याङ्गिँरदा रात काट्न बाध्य छ । परिवारका चार भाइमध्ये दीपकलाई मात्र सरकारले अस्थायी आवासबापतको रकम दिएको थियो । 

अस्थायी आवासका लागि तथ्याङ्क सङ्कलनमा छुटाइएका उनीहरू राज्यले उपलब्ध गराउने राहतबाटै वञ्चित बन्न पुगेको गुनासो दीपक शाहीले गर्नुभयो । भूकम्प गएयता घर बस्नलायक नभएपछि सिङ्गो गाउँ नै सुकुमवासी बनेको स्थानीयको गुनासो छ । हिउँद लागेसँगै यस वर्षको चिसोयाम कसरी काट्ने भन्ने गाउँभरि चिन्ता बढ्न थालेको उहाँको दुःखेसो छ । 

यस्तै रुकुमपश्चिम सानीभेरी गाउँपालिका–१ की अमृता पुनले अस्थायी टहराभित्र शीतले भिजेका सिरक ओढेर रात काट्न बाध्य हुनु परेको दुःखेसो पोख्नुभयो । सरकारले दिएको ५० हजार रुपियाँले टहरा बनाएर बसेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका–१ का देवबहादुर विकले भूकम्पले घर भत्काएपछि टहरामै बस्दै आएको बताउनुभयो । 

जुनीचाँदे गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले आफ्नो पालिकाका केही भूकम्पपीडितले दोस्रो किस्ताको रकम पाउन बाँकी रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले १३ करोड रकममा १० करोड मात्रै पालिकालाई पठाएको हुँदा सबै पीडितलाई भुक्तानी दिन समस्या भएको बताउनुभयो ।