भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १ गते । भूमि समस्या समाधान आयोग जिल्ला समिति, कञ्चनपुरले भूमि नाप जाँचको काम अगाडी बढाएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले विगठन गरेको भूमिसम्बन्धी समस्या आयोग सर्वाेच्च अदालतले पुन:स्थापना गरेपछि जिल्लामा नाप जाँचको काम अगाडि बढाइएको हो ।
जिल्लामा भूमि सम्बन्धीको नाप जाँचको कामकाज अगाडि बढाइएको भूमि समस्या समाधान आयोग कञ्चनपुरका प्रमुख नेत्रप्रकाश पन्तले बताउनुभयो । उहाँका अनुसार यहाँका तीन पालिकाहरूमा अहिले नाप जाँचको काम भइरहेको छ ।
हाल भीमदत्त नगरपालिका वडा नम्बर १२, कृष्णपुर नगरपालिका वडा ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ तथा ११ मा नाप जाँचको काम अगाडी बढाइएको कार्यालय प्रमुख पन्तले बताउनुभयो। यस अघिका आयोगहरूबाट परेका निवेदन र यस आयोगबाट भरेकाको समग्र रूपमा नाप जाँचको काम भइरहेको उहाँले बताउनुभयो । सर्वाेच्च अदालतले आयोग पुनःस्थापना गरेपछि जिल्ला समिति कञ्चनपुरले नाप जाँचको काम अगाडि बढाएको जनाएको हो ।
आयोग विघटन नगरिएको नभएको भए हालसम्म जिल्लामा १५ हजार पुर्जा बाँडिसक्ने उहाँले बताउनुभयो । जिल्ला स्थित १५ हजार भूमिहीनलाई लगत्तै पुर्जा वितरणको काम गरिने उहाँले बताउनुभयो। “आयोग पुनःस्थापना भएको छ”, उहाँले भन्नुभयो, “पुर्णपाठ तयार भएर आएपछि बाँकी पुर्जा वितरण लगायत छुटेकाको आवेदन सङ्कलनको काम अगाडि बढाउनेछौँ ।”
रिट जारी गरेपछि जेनजी सरकारले गरेको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिसकेको हुनाले पूर्णपाठको जरुरी नभए पनि मन्त्रालयले अल्झाउँदा केही ढिलाइ भएको उहाँले बताउनुभयो ।
हाल भूमि समस्या समाधान आयोगबाट खटाइएका १३ सर्वेक्षकमध्ये ५ जना र २० अमिन मध्ये ३ जना अमिन मात्रै कार्यालयमा हाजिर भएका छन् । कार्यालयमा उपस्थित भएकाहरू फिल्डमा खटिएर नाप जाँचको कार्य गर्दै आएका छन् ।
आयोग विगठन भएपछि ४ जना सर्वेक्षकले राजीनामा दिएर गएकाले जनशक्ति व्यवस्थापन गर्नमा पनि समस्या भएको कार्यालय प्रमुख पन्त बताउनुहुन्छ । आयोगले आवश्यक जनशक्ति पठाए द्रुत गतिमा काम अगाडि बढाइने जनाइएको छ ।
कञ्चनपुरमा झन्डै ७३ हजार भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।