लीलाराज खड्का
बिर्तामोड, पुस १ गते । झापा गोल्डकपको सातौ संकरण आगामी माघ २४ गतेदेखि डोमालाल रङ्गशाला बिर्तामोडमा हुने भएको छ ।
राजधानी बाहिर मोफसलकै प्रतिष्ठित र ठुलो धनराशीको मानिने यस प्रतियोगिताको सातौँ संस्करण माघ अन्तिम साताबाट हुने गरि अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको अध्यक्ष केदार गिरीले बताउँनुभयो ।
हालै दिवंगत हुनुभएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ए डिभिजन टिमसहित १० टोलीले भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेताले आठ लाख रुपियाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख रुपियाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले बताउँनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ दि टुर्नामेन्ट) लाई एकथान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५÷२५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपियाँ दिइनेछ ।