• १२ साउन २०८१, शनिबार

दमकमा रहेको रेल कार्यालयमा वाइसिएलद्वारा तालाबन्दी

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ २ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल विभागको रेल योजना कार्यालय, झापा दमकमा वाइसीएल नेपालले तालाबन्दी गरेको छ । रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने र सुटिङमा कमाउधन्दा चलाएको भन्दै तालाबन्दी गरेको वाइसीएल दमक नगर कमिटी अध्यक्ष जोन बुढाथोकीले बताउनुभयो । 

यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचारविरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एक हप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिनुभएको थियो ।

अल्टिमेटमको दुई दिनपछि नै रेल योजना कार्यालयमा तालाबन्दी गरेका छन् ।  पूर्वपश्चिम रेलमार्गका नाममा कामै सुरु नगरेर कार्यालयको बोर्डमात्रै राखेर कर्मचारी नियुक्ति गरेकाले यस्तो फजुल खर्च रोक्न माग गर्दै कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष बुढाथोकीले गोरखापत्रलाई प्रतिक्रिया दिनुभयो ।

दुई वर्ष पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा झापा मोरङ र सुनसरी जिल्लालाई छुट्टै हेर्नेगरी झापाको दमकमा रेल योजना कार्यालय सञ्चालनमा आएको थियो । 


यस कार्यालयले हाल दैनिक नियमित कामहरू बाहेक रेल मार्गको सिमाङ्कन, रेल मार्ग बाहेकको जमिन फुकुवा, रेल मार्गको किल्ला गाड्ने लगायतका कामहरू गरिरहेको रेल योजना कार्यालय दमकका प्रमुख सञ्जय पन्थीले गोरखापत्रलाई जानकारी दिनुभयो । 

मंगलबार वाइसीएलका कार्यकर्ताले अफिसमा ताला लगाइदिएको बताउँदै यसबारे इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराइसकिएको पन्थीले बताउनुभयो । रेल योजना कार्यालयमा तीन इन्जिनियर, सात सब-इन्जिनियरसहित दर्जनौँ दरबन्दी भए पनि हाल कार्यालयमा एक सुब्बा, एक लेखापाल, एक एकाउन्टेन्ट र कार्यालय प्रमुख काममा रहेको कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो ।