• २७ पुस २०८१, शनिबार

कालोपत्रे गरेको एक महिना नबित्दै भत्कियो सडक

blog

मिर्दी–क्याक्मी–भिमाद सडक भत्किएको कालोपत्रे सडक ।

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ २ गते । हरिनास गाउँपालिकामा सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किन थालेको छ । 

मिर्दी–क्याक्मी–भिमाद सडकको गिरकोट बाझापोखरी खण्डको डीबीएसटी कालोपत्रे कालोपत्रे भएको थोरै समयमा भत्किएको हो । 

पूर्वाधार विकास कार्यालयले १० किमी कालोपत्रे गरेकोमा विभिन्न ठाउँमा सडक भत्किएको बताउँदै स्थानीय गुञ्जन मानन्धरले थोरै गिट्टी निस्किँदा माटो देखिएको बताउनुभयो । 

सडक कालोपत्रे २९ करोड ८० लाख ४१ हजार ६६४ रुपियाँ ओयसिस इन्जिनियरिङ एण्ड बुइल्डर्स प्राइभेट लिमिटेड काठमाडाैंले गरेको हो । 

साढे दुई वर्षमा सवा सात मिटर चौडाइको बाटो कालोपत्रे गर्ने गरी २०७६ मङ्सिर ८ गते निर्माण कम्पनीले सम्झौता गरेको थियो । 

पटक पटक समय थपेर काम सकेको ओयसिसले गरेको कालोपत्रे थोरै समयमा गिट्टी निस्केर माटो देखिएपछि स्थानीय चिन्तत बनेका छन् ।  

जिल्लाको दुर्गम पालिका मध्येको एक पालिकामा चिनिने हरिनासमा वर्षौँदेखि कालोपत्रे सडकमा हिँड्ने सपना पूरा भए पनि कालोपत्रे उक्किएपछि थोरै समयमा सपना अधुरो हुने हा की भन्ने चिन्ता लागेको मानन्धरले बताउनुभयो । 

मिर्दी–क्याक्मी–भिमाद सडक निर्माण कम्पनीले काम गरेर सकेको बताउँदै पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले कालोपत्रे भत्किएको हेरेर पुनः भत्काएर कालोपत्रे गर्न लगाउने बताउनुभयो । 

निर्माण कम्पनीले भुक्तानी पनि नलगेको बताउँदै अर्यालले पाँच प्रतिशत पनि धरौटी रहेकाले सबै चेकजाँच सकेर भुक्तानी दिने बताउनुभयो । 

उहाँका अनुसार दुलेगौडाँ हुँदै ढोरबराही–जुगिफाट–चिसापानी, चिसापानी चित्रे सडक, दग्दी–दोभान सडक कालोपत्रे भइरहेको छ ।