• १४ मंसिर २०८१, शुक्रबार

विद्यार्थी नेताको जिम्मेवारी बुझ्न अध्ययन गर्नुस् : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सम्बाेधन गर्नुहुँदै ।

काठमाडौं, जेठ १ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्यार्थी नेताले आफ्नो कर्तव्य तथा जिम्मेवारी बुझ्न अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

५९औँ विद्यार्थी दिवसको अवसरमा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले विद्यार्थी नेताले सामाजिक संस्कार र भावना बुझ्न पनि अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, “जनता वेदनामा हुन्छन्, विद्यार्थी नेताहरू त्यही संस्कार, भावना अध्ययन गर्नुस्, राम्रो चेतनाका लागि आफ्नो कर्तव्य र जिम्मेवारी बुझ्न, योग्य र सक्षम बन्न मेहनत गर्नुपर्छ ।”

उहाँले रोजगार, सीपसँग जोडिएको जीवनोपयोगी शिक्षाका लागि सहकार्य हुँदै आएको प्रसङ्ग उल्लेख गर्नुहुँदै समाजमा निराशा व्याप्त भएकाले आशाको दीप प्रज्ज्वलन गर्न विद्यार्थीले भूमिका खेल्नसक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जहिले पनि राजनीतिक आन्दोलनको अगाडि सांस्कृतिक आन्दोलन, सांस्कृतिक अभियान, साहित्य र संस्कृतिले बाटो देखाउँछ र बाटो प्रष्ट छ, मिसन क्लियर छ भने बाटो बिराउनुहुन्न ।”