• ११ मंसिर २०८१, मङ्गलबार

बार्सिलोना चार खेल अगावै च्याम्पियन

blog

स्पान्योलविरुद्ध गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ १ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोना लिगमा चार खेल अघि नै च्याम्पियन बनेको हो । आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पान्योललाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्नुभयो । एलेक्स बाल्डे र जुल्स कुन्डेले एक एक गोल गर्नुभयो । घरेलु टोली स्पान्योलका जेभियर पुआडो र जोसेलुले सान्त्वना गोल फर्काउनुभयो । 

लेवान्डोस्कीले ११औँ र ४०औँ मिनेटमा गोल गर्नुभएको थियो । बाल्डेले २०औँ र कुन्डेले ५३औँ मिनेटमा गोल थप्नुभएको थियो । स्पान्योलका पुआडोले ७३औँ र जोसेलुले दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काए पनि टोलीको हार टरेन ।

हारसँगै स्पान्योललाई रेलिगेसनमा पर्ने डर छ । १९औँ स्थानमा रहेको स्पान्योलको ३४ खेलबाट ३१ अङ्क छ । शीर्षस्थानमा रहेको च्याम्पियन बार्सिलोनाको समान खेलबाट ८५ अङ्क छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७१ अङ्क छ । 

सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको बार्सिलोनाको यो २७औँ ला लिगा उपाधि हो । रियलले सर्वाधिक ३५ पटक उपाधि जितेको छ । एजेन्सी