• २६ पुस २०८१, शुक्रबार

नयाँ वर्षको स्वागत (सम्पादकीय)

blog

नयाँ वर्षको आँगनीमा उभिएर आगामी  दिनहरूको स्वप्नील कल्पनामा छ जगत् । नयाँ वर्ष, नयाँ दिन र नयाँ समयको रूपान्तरण मात्र होइन उमङ्ग र सङ्कल्पको सङ्गम पनि हो । महाकवि कालिदासले क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपं रमणीयतायाः भनेर क्षण क्षणमा नवीनता प्राप्त गर्नुलाई रमणीय भन्नुभएको छ ।

उहाँले नयाँ र रमाइलोमा रहने साश्वत अटुट सम्बन्ध खोतल्नु भएको छ । यसर्थ वैशाख नयाँ वर्ष हो र रमाइलो क्षण पनि हो । नयाँ वर्षको बिहानीमा प्रकृति रुखमा पालुवा बनेर हाँसेको छ । हाँगाभरिको पालुवाले धरतीलाई शीतलता दिएको छ, रङ्गाएको छ, सजाएको छ । यस्तो लाग्छ वनपाखातिर हेर्दा, अँगालोभरि बुके लिएर प्रेयसीले प्रेमीलाई स्वागत गरिरहेकी छन् सँघारमा उभिएर । 

हुन त प्रकृति र क्षणक्षणमा नयाँ नभएको कुन समय होला ? साँझ बिहानलाई नयाँ बनाउन अस्ताउँछ । बिहान साँझमा पन्छीका स्वर गाउन उदाउँछ । कुन साँझ नवीन छैन ? कुन बिहान नूतन छैन ? ‘जो बेला जे व्यवस्था प्रकृति नियमले  प्राप्त त्यै छ राम्रो’ कविशिरोमणि लेखनाथ पौड्याल सबैमा सुन्दर देख्नुहुन्छ । प्रकृतिका यिनै नियमलाई स्वीकार गरेर प्राप्तिलाई सुन्दर देख्नसक्नु प्रकृतिप्रेमीहरूको लक्षण हो । लक्षणा हो । 

अभिव्यक्ति, लेखन, कला तथा सिर्जनाका उर्वर भूमि सौन्दर्य र प्रकृति हुन् । जहाँ  साहित्यको सृष्टि अङ्कुरित हुन्छ । फुल्छ र फल्छ । साहित्य सृष्टि हो । सत्य र सौन्दर्य पनि हो । सत्यम्, शिवम्, सुन्दरम् । प्रकृति र परिवर्तन सत्य हुन् । सिर्जना र सौन्दर्य पनि हो साहित्य । आरूका फूलहरू आफैँमा सुन्दर र सत्य हुन् । त्यसैले हर आँखामा यस्ता फूल साहित्य हुन् । यी फूलका अभिव्यक्तिलाई कविले अनुकरणात्मक अभिव्यक्ति दिन्छ । 

मधुपर्कले नयाँ नयाँ सामग्रीलाई विशेष सन्दर्भमा प्रस्तुत गर्दै आएको छ । आगामी दिन पनि यस्ता सामग्रीको निरन्तरतामा हामी दत्तचित्त रहनेछौँ । हाम्रा प्रयासलाई थप नयाँ र आकर्षक बनाउन आदरणीय पाठकहरूको स्नेहपूर्ण प्रतिक्रियालाई हामीले शिरोपर गर्दै आएका छौँ । गर्नेछौँ । आगामी वर्ष २०८० लाई साहित्यिक वर्ष बनाउन पाठकहरूसँगको हातेमालोलाई मधुपर्कले सान्निध्य गराउनेछ ।  

नयाँ वर्षको उपलक्ष्यमा मधुपर्कका पाठक, सर्जक, शुभचिन्तक, विज्ञापनदाता सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दैछौँ ।