• ९ मंसिर २०८१, आइतबार

वैशाख

blog

डाँडाकाँडा चउर हरिया देखिए पालुवाले, 

बोकी ल्यायो बकुलवनको बास मीठो हबाले । 

डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली, 

गोठालाले वन–वन डुली हाल्न थाल्यो सुसेली ।।१।।


लाऊँ कानैतिर भनी टिपिन् गुर्सिनीले गुराँस, 

नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपाश । 

भोटेनीले मगमग–बुकी फूल बाँधिन तुनामा, 

क्वैली बोल्यो वन–वन नयाँ प्रीतिको सम्झनामा ।।२।।


आए पाखा वन चउरमा फूल लाखाँ पलाई, 

को भन्देला सकल यिनको नाम मीठो मलाई । 

मेरै धौलागिरिउपरमा छैन मैले पुगेको,

नेपालीको दिल हुन अझै छैन मैले सकेको ।।३।।


मीठो बास्ना मधुपवनमा आज आइरहेछ । 

यौटा थुङ्गा वनतिर कतै मुस्कुराइरहेछ । 

को हो– को हो भनि वनवनै क्वैलि गाईरहेछ, 

नौलो मान्छे कुसुमपथमा हेर आईरहेछ ।।४।।


चौतारीमा वर पिपलको बोट नौलो लगाऊँ, 

छाहारीको तलतिर बसी गीत यौटा म गाऊँ 

आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो, 

लाई कैल्यै पनि नसकिने प्रीति नौ लाख मेरो ।।५।।


वैली जान्छन् कुसुमहरू यी जेठको घाम, ओडी 

क्वैली जान्छे कुन विरहमा माइती देश छोडी । 

हाँसी खेली दुइदिन, कहाँ जान्छ यो जिन्दगानी, 

को लैजाला अमरपुरमा फूलको यो जवानी ।।६।।


बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्, 

मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् । 

कस्तूरीले गिरिबन घुमी खोज्छ आफ्नै सुगन्ध, 

हुन्नन् कैल्यै कुसुभवनमा प्रीतिका गीत बन्द ।।७।। 


सं. डा. चूडामणि बन्धु

साझा कविता (सा.प्र.) तेस्रो २०३४