• २६ पुस २०८१, शुक्रबार

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी च्याम्पियन

blog

उत्कृष्ट खेलाडी घोषित समिर तामाङ र स्मारिका तामाङ । तस्बिर : राखेप

काठमाडौं, वैशाख ३० गते । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले ४ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा जैशीदेवलका समिर तामाङ तथा महिलामा मनमैजुकी स्मारिका तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुरेन्द्र खड्गी उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्ट खेलाडीलाई जनही ५ हजार तथा प्रशिक्षकलाई ३ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

दुईदिने प्रतियोगितामा विभिन्न २३ स्पर्धामा ३ सय खेलाडी सहभागी थिए । विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव अचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।