गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि सुरक्षा निकायले आन्तरिक तयारी तीव्र पारेका छन् ।
गृह मन्त्रालयले तयार पारेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक रूपमा तयारी सुरक्षा तयारी सुरु गरेका छन् । यसै क्रममा सशस्त्र प्रहरी बलले आगामी निर्वाचन सुरक्षार्थ तिनै तहमा निर्वाचन सेल गठन गरी आवश्यक सुरक्षा तयारी तीव्र पारेको छ ।
निर्वाचनको बेला सुरक्षा चुनौती बढेमा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्था हुन सक्ने आकलन गरी ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) हवाई साधनबाट तत्काल पु¥याउने गरी तयारी अवस्थामा राखिने भएको छ । सशस्त्रले विशेष कार्यदल र विपत् उद्धार उपत्यका गणका क्युआरटी टोलीलाई तयारी अवस्थामा राख्ने जनाएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले आगामी निर्वाचनलाई सफल बनाउन त्रुटिरहित, पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन तयारी भइरहेको बताउनुभयो । उहाँले निर्वाचनमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले आफ्नो परिचलन नीति तयार गरी सोही अनुसारको तयारीलाई तीव्रता दिएको बताउनुभयो ।
निर्वाचन क्षेत्रहरूको सुरक्षा संवेदनशील आकलन गरी सशस्त्रले सशस्त्र प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसै गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा बाहिनी निर्वाचन सेल र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गण निर्वाचन सेल र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गुल्म निर्वाचन सेल गठन भई निर्वाचन सुरक्षा तयारी सुरु गरिएको छ ।
यी निर्वाचन सेलमार्फत मोबाइल, स्ट्राइकिङ, क्युआरटी, रिजर्ब, निर्वाचन क्षेत्र सरक्षा, सुरक्षा बेस कमान्ड पोस्ट र निर्वाचन अधिकृतको कार्यालयमा २४ सै घण्टा सुरक्षा दिइने छ ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागि आवश्यक तयारी भइरहेको र भौगोलिक अवस्था तथा सुरक्षा संवेदनशीलता भएका क्षेत्रमा एक महिनाअघिदेखि नै मोबाइल गस्ती गर्ने तयारी छ ।
गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा निकायबिचको समन्वयमा निर्वाचन आचारसंहिताको पालन, निर्वाचन क्षेत्रहरूको नक्साङ्कनसहित सर्भिलेन्स बढाउँदै सम्भावित निर्वाचनविरोधी गतिविधिमाथि सूक्ष्म निगरानीसहित पूर्वसूचना सङ्कलन गर्ने र क्युआरटी टिम आवश्यक स्रोत साधनसहित त्यस्ता रणनीतिक स्थानमा परिचालन गर्ने तयारी गरिएको छ । प्रत्येक क्युआरटी टिमलाई आवश्यक सवारीसाधन तथा वैकल्पिक यातायातका साधनबाटै तत्काल आवश्यक स्थानमा पु¥याउने गरी पूर्वतयारी अपनाउने तथा भौगोलिक विकटता, बन्दोबस्ती, यातायात र ढुवानीको संयोजन आवश्यकता अनुसार प्रदेश सुरक्षा समितिको समन्वयमा सशस्त्रका बाहिनीमार्फत हुने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको पनि सशस्त्रले जनाएको छ ।