• १३ मंसिर २०८१, बिहिबार

सुवास विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान

blog

विशेष प्रशिक्षणका लागि सुवासलाई विदाइ गरिँदै ।

काठमाडौं, वैशाख ३० गते । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा‌ सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । 

नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले सुवासलाई शुभकामना सहित बिदाइ गर्नुभयो । सुवासले  जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउनु हुनेछ । सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९औँ स्थानमा हुनुहुन्छ ।

मेलबर्नमा सुवासले विज्ञहरूबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनुहुनेछ । आगामी अक्टोबर महिनामा रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाइएको छ। 

अक्टोबर २६ देखि २९ तारिखसम्म रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।