काठमाडौं, वैशाख २९ गते । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा हिजो (बिहीबार) अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैरभौगोलिकसहित नौ वटा प्रदेश कमिटीका अध्यक्षले प्रस्तुत गर्नुभएको मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदनबारे आठ वटा समूह बनाएर छलफल सुरु गरिएको हो ।
शुक्रबार बिहान ८ बजेबाट सुरु भएको छलफललगत्तै प्रदेश अध्यक्षहरुलाई सुझाव प्रस्तुतका लागि १० मिनेटको समय दिइएको छ ।
प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले समूहगत छलफलबाट प्राप्त सुझावको आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ ।
यसैबीच एमालेले आजै अपराह्न साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । एमालेको जारी केन्द्रीय कमिटी बैठक भोलि (शनिबार) समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । त्यसपछि अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन हुनेछ ।