• १४ वैशाख २०८१, शुक्रबार

कांग्रेस पदाधिकारी बैठक :नागरिकता विधेयकको विषयमा छलफल

blog

बैठकपछि कांग्रेसका सहमहामन्त्री जीवन परियार ।

काठमाडौं, वैशाख २८ गते। नेपाली कांग्रेसका शुक्रबार बसेको पदाधिकारी बैठकमा समसामयिक राजनीतिदेखि नागरिकता विधेयकबारे पनि छलफल भएको छ। 

कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा बजेट अधिवेशन, विभिन्न प्रदेश सरकारले बजेट ल्याउने गरेको तयारी लगायतका विषयमा छलफल भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “खासगरी, आजको बैठकमा यो बजेट अधिवेशनको सन्दर्भ, विभिन्न प्रदेशमा सरकारले बजेट ल्याउने तयारी भएको छ। विशेषगरी कोशी प्रदेश   प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सरकार चलिरहेको छ, यसका बारेमा पनि गम्भीर रुपमा छलफल गर्यौं।” यस विषयमा गठबन्धनका दलसँग परामर्श गरेर कोशी प्रदेशसँग कसरी सरकारको तालमेल गराउने भन्ने विषयमा छलफल भएको उहाँको भनाइ छ। 

दुवै सदनबाट पारित भएर गएको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको भन्नुहुँदै उहाँले भन्नुभयो, “राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक थन्केर बसेको छ। यस विषयमा पनि गम्भीर छलफल, केही दिन अगाडि प्रधानमन्त्री निवासमा महान्यायधीवक्ता, पूर्व महान्यायधीवक्ता र कानुनका विज्ञ राखेर प्रधानमन्त्रीले छलफल गर्नुभयो। राष्ट्रपतिले पनि केही विज्ञसँग परामर्श गरिरहनुभएको कुरा पनि आएको छ। नेपालको वर्तमान संविधानले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले सदनबाट पारित भएर गएका विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधनिक व्यवस्था छ।”

उहाँले राष्ट्रपतिलाई केही लागेको सन्दर्भमा राष्ट्रपतिले रायसहित सदनमा सो विधेयक फर्काउने व्यवस्था रहेको बताउनुभयो। “त्यसकारणले दुवै सदनले पारित गरेको विधेयक किन प्रमाणीकरण गर्नुभएन। यसका लागि कसरी वातावरण तय गर्न सकिन्छ, राष्ट्रय सहमति गर्न सकिन्छ, सदनबाटै कुनै खालको पत्राचार गर्ने हो कि, या कसरी जाने हो भनेर विज्ञसँग परामर्श गर्ने कुरा चलेको छ”, उहाँले थप भन्नुभयो। 

सञ्चारकर्मीको पूर्व गृहमन्त्री पक्राउ प्रकरणको जिज्ञासामा उहाँले यस विषयमा हिजो र आज बसेको पदाधिकारी बैठकमा छलफल नभएको प्रतिक्रिया दिनुभयो।  उहाँले भन्नुभयो, “एउटा कुरा म भन्न चाहन्छु, कुनै पनि अनुसन्धानको क्रममा कुनै पनि व्यक्तिलाई यो चाहिँ दोषी भन्न मिल्दैन, यो चाहिँ अभियुक्तको रुपमा हुन्छन्। यस विषयमा सरकारले निष्पक्ष र तटस्थ रुपमा छानबिन गर्नुपर्छ, निर्दोष पर्नु हुँदैन, दोषी छुट्नु हुँदैन।” 

उहाँले पूर्व गृहमन्त्री बालकृष्ण खाणले अनुसन्धानमा सघाउ पु¥याएको तर, एमालेका टोपबहादुर रायमाझी भने फरार रहेको विषय पनि जोड्नुभयो।