• ७ पुस २०८१, आइतबार

समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री श्रेष्ठ

blog

कांग्रेस नेताहरूसँगको संक्षिप्त कुराकानी गर्नुहुँदै उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, वैशाख २७ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताउनुभएको छ ।

राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सफलता हासिल गर्नुभएको भन्दै आभार व्यक्त गर्न मन्त्रालय आउनुभएका कांग्रेस नेताहरूसँगको संक्षिप्त कुराकानीमा उहाँको उक्त कुरा बताउनुभएको हो ।

गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्धको यस कदमको उच्च प्रशंसा गर्नुभएको छ । सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गर्नुभएको छ ।

गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादव, डा. गोविन्द पोखरेल सहितका २० भन्दा बढी कांग्रेस नेताहरू उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन र आभार व्यक्त गर्न मन्त्रालय आउनुभएको थियो । यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइ समेत उहाँहरूको छ ।