• १४ वैशाख २०८१, शुक्रबार

पुराना कलाकार भगवानका वरदान हुन् : नायिका भुवन चन्द

blog

काठमाडौं, वैशाख २७ गते । नेपालको पहिलो नायिका हुनुहुन्छ भुवन थापा चन्द । चन्द यस्ता समयका कलाकार हुनुहुन्छ जुनबेला नाच्ने गाउने भनेको नराम्रो मानिन्थ्यो । कलाकार हुनु भनेको छोराछोरी बिग्रिए भन्ने अर्थ लाग्ने जमानाका कलाकार हुनुहुन्छ चन्द । 

पाँच वर्षको उमेरमै नाटकबाट आफ्नो कला यात्रा सुरु गर्नुभएका नायिका चन्दलाई आज पनि डबलीमा नाटक गरेको दिन ताजा नै छ । उहाँले पहिलो पटक अभिनय गर्नुभएको नाटक बालकृष्ण समको ‘अन्ध वेद’ थियो । 

“डबलीमा नाटक गर्दा सबैले चकलेट दिएको भरमा पनि म नाचेर देखाउँथे । मलाई रमाइलो लाग्थ्यो,” उहाँ भन्नुहुन्छ, “त्यसरी उमेर बढ्दै गएपछि म नेपाल कला केन्द्रमा आबद्ध भए । १४ वर्षको उमेरबाट नै मैले लिड रोलमा अभिनय गर्न सुरु गर्ने मौका पाएको थिएँ ।” 

यसरी २०१७ सालमा राष्ट्रिय नाच घरमा आबद्ध भएसँगै आजसम्म पनि कलाकारितामा सक्रिय हुनुहुन्छ । बाल्यकालदेखि नै कलाकारितामा रमाउनुभएका कलाकार चन्द आज पनि यसै क्षेत्रमा रमाइरहनुभएको छ । रङ्गमञ्चबाट फिल्ममा प्रवेश गर्नुभएका चन्दका अनुसार त्यो बेला नाटक घर भन्ने हुन्थेन । उहाँ सम्झिनुहुन्छ, “सिंहदरबारको पुतली बगैंचामा एउटा नाटक हल थियो । त्यहाँ सानो नाटक घरमा हामी नाटक देखाउने गर्थ्यौँ ।”

“हाम्रो समयमा सिक्ने घर थिएन । अहिलेका कलाकारहरू माझिएर आएका छन् । त्यही भएर पुराना कलाकारहरू गड गिफ्टेड नै हुन् ।” 

कलाकारलाई नचौती भन्ने समय थियो 

उहाँको जमानामा नाच्नेलाई नचौती भन्दै हेलाको दृष्टिकोणले हेर्ने चलन थियो । समाजमा सबैभन्दा नराम्रो काम नै नाचगान भन्ने थियो । तरपनि उहाँका लागि कलाकारिता यात्रा केही हदसम्म सहज भयो । 

“बुबा कलाकार भएको कारणले मलाई यस क्षेत्रमा प्रवेश गर्न गाह्रो भएन । तैपनि कलाकार बन्न धेरै गाह्रो थियो । समाजले राम्रो नमान्ने थियो, यो आज पनि छ, अहिले पनि कुनै पनि आमाबुबाले आफ्ना छोरीलाई नाच्न गाउन समर्थन गर्दैनन्”, उहाँले भन्नुभयो ।  

“मलाई कलाकार नबन्, नाच्ने–गाउने काम राम्रो होइन भनेर धेरैले भन्नुभयो । कतिपयले नराम्रो अर्थ पनि लगाउनुभयो’, उहाँ भन्नुहुन्छ, ”तर, बालकृष्ण समले तयार गर्नुभएको उक्त नाटक खेल्न भुवनका बुबा भैरवबहादुर थापाले नै अफर चन्दका लागि अफर ल्याउनुभएको थियो ।” उहाँका अनुसार त्यो बेलाका कलाकारहरूले न त परिवारको साथ पाउँथे, न समाजले नै उनीहरूलाई राम्रो मान्थ्यो ।

यसरी २०१८ सालसम्म पुग्दा भुवनले केही नाटकमा अभिनय गरिसक्नुभएको थियो । यसरी १३ वर्षको उमेरमा उहाँले राष्ट्रिय नाचघरमा नियुक्ति लिनुभयो र तलब थियो, एक सय ५० रुपियाँ । “त्यो समयको १ सय ५० भनेको त अहिलेको समयको २०/२५ हजार हो’, उहाँले भन्नुभयो ।

नेपालको पहिलो नायिका 

भुवन चन्द नेपाली चलचित्रको पहिलो नायिका हुनुहुन्छ । २०२१ सालमा नेपालमा बनेको पहिलो चलचित्र ’आमा’मा उहाँले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । 

सानै उमेरदेखि कलाकारिता सुरु गर्नुभएकी उहाँ ’आमा’ चलचित्रमा काम गर्दा १५–१६ वर्षकी मात्रै हुनुहुन्थ्यो । उहाँ यस फिल्ममा अडिसन दिएर छनोट हुनुभएको थियो । अडिसनको पाँच छ महिनापछि मात्रै फिल्मको छायाङ्कन सुरु भएको उहाँ सम्झिनुहुन्छ । 

सानै उमेरदेखि कला क्षेत्रमै सक्रिय नायिका चन्दलाई पहिलेको तुलनामा आफ्नो जीवन अझै सहज र रङ्गिन लाग्छ । उहाँको प्रेम विवाह भएको हो । उहाँ भन्नुहुन्छ, “हाम्रो जमानामा प्रेम र आजको प्रेममा धेरै परिवर्तन आएको छ । पहिलेको प्रेममा एक अर्काप्रति सम्मान र समझदारी हुन्थ्यो । समय लिएर विवाहमा परिणत हुने कारणले वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्ने हुन्थ्यो । तर अहिलेको समय नै यस्तै छ । एक छिनमा प्रेम हुन्छ र केही महिनामै प्रेम सम्बन्धको अन्त्य पनि हुन्छ । यो सायद जमाना अनुसार आएको परिवर्तन हो ।”

पुराना फिल्ममा कथा हुन्थ्यो

“पुराना फिल्ममा कथा हुन्थ्यो । पुराना फिल्मको कथा हामीलाई आज पनि याद छ । त्यो बेला समाजमा घटेका घटनालाई आधार बनाएर घर परिवारसँग बसेर हेर्न लायकको फिल बन्ने गर्थ्यो । तर अहिले त्यस्तो छैन, उहाँ भन्नुहुन्छ,” नेपाली फिल्ममा विदेशी फिल्म हाबी भएको छ । आजको फिल्ममा कथा नै नहुने त हैन तर पहिलेको जस्तो छैन । फिल्म मनोरञ्जनको साधन मात्रै बनेको छ ।” 

कलाकारलाई मनोरञ्जनको साधन मात्रै 

कलाकारलाई मनोरञ्जनको साधन मात्रै सम्झिने चलन रहेको चन्दको गुनासो छ । 

“त्यो बेला पनि श्री ५ सरकारले कलाकारलाई मनोरञ्जनको साधन मात्रै सम्झिने चलन थियो र आज पनि कलाकारका लागि नेपाल सरकारकोतर्फबाट कुनै योगदान छैन । हामी कलाकारहरूको भविष्य राम्रो छैन,” उहाँ भन्नुहुन्छ, “कतिपय कलाकारको अवस्था दयनीय छ । त्यसैले नेपाल सरकारले कलाकारको संरक्षण गर्नुपर्छ, कलाकारको भविष्यका लागि नीति निर्माण गरियोस् ।” 


भिडियो : केशब गुरुङ र मनोजरत्न शाही ।