• १२ मंसिर २०८१, बुधबार

खेलकुद मन्त्रीलाई राखेपको बधाइ र स्वागत

blog

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई राखेपमा स्वागत गरिँदै । तस्बिर : राखेप

काठमाडौं, वैशाख २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको सम्मानमा बधाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

राखेप परिषरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री लिम्बुलाई परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंबलाल घिसिङ, राखेप बोर्ड सदस्यहरु, विभागीय प्रमुख, शाखा प्रमुख, राष्ट्रिय खेल संघका प्रतिनिधि, कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले आफुले सबैसँग मिलेर काम गर्न खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताउनुभयो । ‘‘हामी सबैले फरक विचार र झण्डा बोकेका छौं । तरपनि खेलकुदको विकास र सफलताका लागि सबै मिलेर आगाडि बढ्नुको विकल्प छैन । म जति समय मन्त्रालयको जिम्मेवारीमा बस्छु खेलकुदमा देखिने खालको काम गरेर जानेछु । यसका लागि खेलकुदमा आवद्ध सबैको सहयोगको आवश्यकता छ,’’ मन्त्री लिम्बूले भन्नुभयो ।

उहाँले नियम र कानुनका आधारमा खेलकुदमा रहेको तामाम समस्या समाधान गर्न आफु तत्पर रहेको पनि बताउनुभयो । कार्यक्रमममा राखेप सदस्य सचिव घिसिङ, उपाध्यक्ष कोइराला लगायतले खेलकुदमा प्रयाप्त बजेट नहुँदा यस मन्त्रालय राजनितिक दलको रोजाईमा नपरेको धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको पाँच महिनापछि युवा तथा खेलकुद मन्त्रालयले नयाँ मन्त्री पाएको हो ।