नेपाली साहित्य वर्तमान अवस्थासम्म आइपुग्नुमा करिब तीन शताब्दी लामो यात्रा हजारौँ व्यक्ति, सङ्घसंस्था र समूहको व्यक्तिगत तथा समूहगत प्रयासको फल हो भन्नेमा दुई मत छैन । सुवानन्ददासबाट सुरु भएको लेखन साहित्य आज यहाँसम्म आइपुग्दा कति परिवर्तन भएको छ । यो तीन शताब्दीको समयावधिमा विभिन्न पर्व, आन्दोलन र अभियानहरूले नेपाली साहित्यलाई यहाँसम्म ल्याई पु-याएको तथ्य देखिन्छ । मोती मण्डली (१९३८), हलन्त बहिष्कार (१९६५), मकै पर्व (१९७७), झर्रो आन्दोलन (२०१३), आयामेली आन्दोलन (२०२०), राल्फाली आन्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), अमलेख (२०२६), यङ्ग राइटर्स फ्रन्ट (२०३१) र बुट पालिस (२०३१) जस्ता आन्दोलन हुँदै २०३६ मा सडक कविता क्रान्ति सम्पन्न भयो । यो क्रम २०३६ पछि पनि रोकिएको छैन । सर्वनाम (२०३८), रङ्गकर्मी आरोहण मञ्च (२०३८), लीला लेखन (२०४४), तरलवाद (२०४६), जनआन्दोलन र साहित्य (२०४६), गणतान्त्रिक आन्दोलन र साहित्य (२०६२/६३) आदि हुँदै रहे । यी आन्दोलन, अभियान, लेखन जे नाम दिइए पनि यी सबैले समग्र नेपाली साहित्यको श्रीवृद्धिमा महìवपूर्ण भूमिका खेलेको भन्ने ठान्दछु । यी अभियानमध्ये कुनैले अल्पकालीन प्रभाव पारेका छन् भने कुनैले दीर्घकालीन रूपमा प्रभाव पारिरहन्छ । २०३६ सालमा सञ्चालित सडक कविता क्रान्ति नेपाली साहित्यको इतिहासमा कोसेढुङ्गा बन्न सफल भएको छ । यो आन्दोलनसँग म पनि जोडिएको हुनाले यो सानो आलेखमा सडक कविता क्रान्तिका सम्बन्धमा संस्मरणमा रहेका केही झिल्काहरू प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
२०३५ सालमा एकवर्षे बीएड अध्ययन गर्न सेवाकालीन शिक्षक विद्यार्थीको रूपमा साउनको सेमेस्टरमा भर्ना हुन त्रि.वि. केन्द्रीय क्याम्पस, कीर्तिपुर पुगेको हूँ । पाल्पा सुगम जिल्ला परेकाले छात्रावासमा कोठा पाइएन तर मलाई स्कुल र क्याम्पसमा पढाउनु भएका आदरणीय गुरु प्रा. गोपीकृष्ण शर्मा त्रिभुवन क्याम्पस पाल्पाबाट नेपाली केन्द्रीय विभाग, कीर्तिपुर सरुवा भई जानुभएकाले र उहाँले कान्ति छात्रावासको क ब्लकमा कोठा पाउनुभएकाले उहाँसँगै बस्ने सुअवसर प्राप्त भयो । नेपाली मूल विषयमा बी.एड. अध्ययन र विद्यालयमा नेपाली विषय अध्यापन गर्ने म जस्तो व्यक्ति गुरुसँग बस्न पाउनु मेरा लागि सौभाग्यको कुरा थियो । त्यो अवधिमा कान्ति छात्रावासको ख र ग ब्लकतिर बस्ने अन्य थुप्रै विद्यार्थी साथीहरूसँग सङ्गत गर्ने अवसर प्राप्त भयो । छात्रावासमा बस्ने हामी विद्यार्थीहरूले छात्रावासको निम्ति पहिलो पल्ट साहित्यिक सामयिक सङ्कलन ‘सङ्कलन’कै नाममा प्रकाशित गरेका थियौँ । सम्पादन समूहमा म पनि सामेल थिएँ । यसरी काठमाडाँैमा रहँदा साहित्यिक क्षेत्रमा पनि संलग्न हुन पुगेको हुँ । यसै दौरान ४ अप्रिल १९७९ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई त्यहाँको सैनिक शासनले दिएको फाँसीको विरोध जनाउन पाकिस्तानी दूतावास जानेक्रममा अस्कल क्याम्पसनजिकै घेराबन्दी गरी प्रहरीले शान्तिपूर्ण जुलुसमाथि लाठी चार्ज ग¥यो । सयौँ विद्यार्थी घाइते भए भने दर्जनौँ विद्यार्थी गिरफ्तारीमा परे । अस्कल होस्टलअगाडि रहेको मल्ल होटल (सायद)को पर्खाल नाघेर परिसरभित्र भाग्न खोज्दा पछाडिबाट मेरो पिँठ्युमा बजारिएको प्रहरीको लौरोको प्रहारले एक हप्ता ओछ्यानमा सुत्नुपरेको पीडा सम्झिँदा आज पनि शरीर र मन दुवै काँप्छन् । अर्को दिनदेखि प्रहरी ज्यादति, घाइतेहरूको उपचार र गिरफ्तार विद्यार्थीहरूको माग राखेर आन्दोलन सुरु भयो । विस्तारै विस्तारै आन्दोलन सशक्त हुँदै गयो र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन देशैभरि फैलिँदै गयो । आखिरमा २०३६ जेठ १० गते शाही घोषणामार्फत् जनमत सङ्ग्रहको घोषणा भयो । सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय शासन पद्धतिका बीचमा जनमत सङ्ग्रह गराउने घोषणा सरकारले ग-यो । जनमत घोषणा भएपछि विद्यार्थी आन्दोलन स्थगित भयो । विस्तारै कक्षाहरू सुचारु हुन थाले । अब अगाडि के गर्ने भन्नेमा अन्योल भइरहेको अवस्था थियो ।
एक दिन कीर्तिपुर क्याफेटेरियामा मित्र अशेष मल्लले फुर्सद भए दिउँसो कवि वासु शशी दाइसँग भेट्न जानु छ, जान्छस् भने । म तयार भएँ । बाटामा अशेषले सडक कविता क्रान्तिको रूपरेखाबारे चर्चा गरे । एक जना पाका पुस्ताका साहित्यकारको अभिभावकत्वको आवश्यकता पर्ने भएकाले वासु दाइलाई अनुरोध गर्न लागिएको हो भन्ने प्रष्ट पारे । जयवागेश्वरी मूल सडकबाट पूर्वतिर थोरै ओरालो ओर्लेर एउटा पुरानो घरभित्र छि-यौँ । बैठक कोठामा एक जना पातला पातलो शरीर भएको आकर्षक अनुहार र केही लामा लामा र घँुम्रिएको कपाल भएका आकर्षक व्यक्तित्व चकटीमा बसेका थिए । त्योभन्दा अगाडि मैले वासु शशीलाई भेटेको थिएन । पहिलो भेटमै म उहाँसँग प्रभावित भएँ । हामी त्यहाँ वासु शशीलाई सडक कविता क्रान्तिको नेतृत्व गरिदिन अनुरोध गर्न गएका थियौँ, अशेष मल्लले सविस्तार सहरका विभिन्न चोक र प्रमुख स्थानमा कविता सुनाउने र जनमतका समयमा बहुदलको पक्षमा जनमत तयार गर्ने लक्ष्य राखिएको र त्यस अभियानमा युवा साहित्यकारहरूको बाहुल्य रहने बताए । युवा जमातलाई पाको पुस्ताको अभिभावकत्व चाहिने भएकाले अनुरोध गर्न आएको बताएपछि उहाँले युवाहरूले गर्ने भनेकै यस्तै नयाँ नयाँ सोचका साथ नयाँ नयाँ अभियान सञ्चालन गर्नु हो । यस्ता कार्यक्रमहरूले नेपाली साहित्यको मात्र होइन समग्र राष्ट्रलाई नै प्रभावित पार्न सक्छ । तिमीहरूले भनेपछि नमान्ने त कुरै भएन, म नेतृत्व लिन तयार छु भन्नु भयो । हामी ढुक्क भएर फर्कियौँ । अशेष मल्ल मभन्दा अलि अगाडि काठमाडौँ गएकाले उनको साहित्यकारहरूसँग अलि बढी चिनापर्ची थियो । २०३६ साल जेठ २७ गते दिउँसो ५ बजेबाट सडक कविता क्रान्ति सुरु गर्ने काममा लागि रह्यौँ । अशेष मल्ल अलि बढी लागे भने अरू हामी पनि लागिरह्यौँ । निर्धारित दिन नजिकै आएपछि वासु शशी दाइले स्वास्थ्यका कारणले आफू उपस्थित हुन नसक्ने खबर पठाउनुभयो । अचानक उहाँ उपस्थित हुन नसक्ने भएपछि उपयुक्त पात्रको खोजी गर्दा भवानी घिमिरे नेतृत्व गर्न तयार हुनुभयो । फलस्वरूप निर्धारित दिन २०३६ जेठ २७ गते ५ बजे काठमाडौँ न्युरोड पीपल बोटबाट सडक कविता क्रान्तिको शुभारम्भ भयो । नेपाली साहित्यमा न्युरोड पीपलबोटको छुट्टै स्थान र महìव छ । कठिन अवस्थामा पनि पत्रपत्रिका किन्ने पढ्ने बहानामा पीपलबोटमा जम्मा भएर साहित्यकारहरूले भिन्न क्रियाकलाप गर्ने भएकाले यो ठाउँको बेग्लै स्थान छ । यस्तो ठाउँबाट सुरु भएको सडक कविता क्रान्ति लगातार महिना दिनसम्म काठमाडौँ, ललितपुर, भक्तपुर र बनेपाका विभिन्न स्थानमा सम्पन्न भयो । त्यसपछि देशका विभिन्न जिल्लामा पनि सडक कविता क्रान्ति सम्पन्न भएका थिए ।
अब सडक कविता क्रान्तिको सैद्धान्तिक उद्देश्य यसले पारेको प्रभाव बारेमा चर्चा गर्नु वाञ्छनीय हुनेछ । सुरुमा सडक कविता क्रान्तिको मूलतः दुईवटा उद्देश्य थिए– (क) कविताका माध्यमले जनतालाई बहुदलको पक्षमा जागृत गराउनु (ख) अभिव्यक्तिको स्वतन्त्रताको पक्षमा उभिनु । १९ वर्षसम्म पञ्चायती व्यवस्थाले नेपाली जनतामाथि गरेको निरङ्कुश शासनका कारण अन्यायमा परेकाले त्यसबाट मुक्ति पाउनुपर्छ भन्ने साहित्यकारको धारणा रहेको छ । जनमत सङ्ग्रहमा बहुदल व्यवस्थाले जिते मात्रै क्रूर शासनबाट मुक्ति पाउने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने भएकाले जनतालाई बहुदलीय व्यवस्थाको पक्षमा मतदान गर्न प्रेरित गर्नु सडक कविता क्रान्तिको उद्देश्य रह्यो । साहित्यकारहरू जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हुन्छन् । बहुदलीय शासन व्यवस्थामा मात्रै अभिव्यक्ति स्वतन्त्रता सुरक्षित रहने भएकाले सडक कविता क्रान्तिमार्फत् समर्थन गरिएको हो । अर्को त्यस समयमा कविता क्लिष्टता र अमूर्ततातिर अग्रसर थियो । आम जनता साहित्यबाट टाढा जाँदै थिए । त्यसेले साहित्य आम जनताका लागि हो भने आम जनताले बुझ्ने सरल र सहज हुनुपर्छ भन्ने मान्यता राखी साहित्यलाई अग्ला पर्खालबाट बाहिर सडकमा जनताका बीचमा ल्याउनु पनि यसको उद्देश्य थियो । यस अभियानमा कुनै राजनीतिक आग्रह–पूर्वाग्रह जोडिएको थिएन । ५ बजेदेखि ६ बजेसम्म एक घण्टा सञ्चालन हुने कार्यक्रममा उपस्थित सबै कविहरूले बिनाभेदभाव कविता सुनाउने अवसर पाउँथे । एक महिनासम्म सञ्चालित सडक कविता क्रान्तिका विषयमा पत्रपत्रिकाहरूमा सकारात्मक टिप्पणीहरू प्रकाशित भएका थिए । साहित्यिक समालोचकहरूले टिप्पणी गरे, राजनीतिक व्यक्तित्वहरूले सकारात्मक रूपमा लिए र वरिष्ठ साहित्यकारहरू पनि जोडिन आएको यथार्थ छ । यसैले सडक कविता क्रान्तिलाई सफल बनायो । तैपनि एकदुई पत्रिका र व्यक्तिहरूले सडक कविताका विपक्षमा पनि आफ्ना विचार व्यक्त गरेका थिए । जे होस् सडक कविता क्रान्तिको सुरुवातमा औपचारिक रूपमा कुनै घोषणा पत्र तयार गरिएको थिएन । सञ्चालन हुँदै गर्दा यसले नेपाली साहित्यमा पारेको दूरगामी प्रभाव नै सफलताको परिणम हो भन्ने लाग्छ । मेरो विचारमा सडक कविता क्रान्तिले मूलभूत रूपमा दुईवटा मान्यता स्थपित गर्न सफल भएको छ । पहिलो कवि साहित्यकार कलाकारहरू सदैव अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको कदर गर्ने तथा अवसर प्रदान गर्ने राजनीतिक व्यवस्थाको पक्षमा हुन्छन् । जुन शाासन व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रताको अपहरण गर्दछ, त्यसको विपक्षमा दृढताका साथ सधैँ सङ्घर्षरत रहन्छन् । दोस्रो साहित्य अग्ला र कठोर पर्खालभित्र बाँधिन सक्दैन र बाँधिनु हुन्न । क्लिष्ट, अमूर्त र कठिन साहित्यभन्दा सरल मूर्त सहज साहित्य नै जनतासँग जोडिन्छ र लोकप्रिय हुन्छ । अर्थात् साहित्य आम जनताका लागि सहज र बोधगम्य हुनुपर्छ भन्ने हो । नेपाली साहित्यमा देखा परेको दूरुह, अमूर्तता, तथा क्लिष्टतालाई छिचोल्दै साहित्यलाई सरल, सहज र बोधगम्यतातर्फ उन्मुख गराएकाले नेपाली समालोचकहरूले सडक कविता क्रान्तिकै कारण नेपाली साहित्यले समसामयिक चरणमा प्रवेश गरेको मानेका छन् । त्यसैले सडक कविता क्रान्ति नेपाली साहित्यका लागि कोसेढुङ्गा साबित हुन सक्नु नै यसको सफलता हो भन्नुमा दुई मत नहोला ।
सडक कविता क्रान्तिका दौरान घटेका केही रमाइला केही नरमाइला घटनाहरू मेरा स्मृतिमा अहिले पनि तरङ्गित हुँदैछन् र तीनलाई सम्झिँदा अहिले पनि मन र शरीर रोमाञ्चित भएर आउँछ । केही घटनाहरूको उल्लेख गर्न चाहन्छु । सडक कविता क्रान्तिको दोस्रो दिन रत्नपार्कमा कार्यक्रम थियो । रत्नपार्क गेट त्यसै त भीडभाड हुने क्षेत्र साढे चार बजेदेखि हामी कविहरू जम्मा हुन थालेका थियौँ । ५ बजेदेखि कार्यक्रम सुरु हुने थियो । त्यति बेला काठमाडौँका सडक चोक जताततै विभिन्न प्रकारका आकर्षक पुरस्कार भएका चिट्ठा बेच्ने गरिन्थ्यो । रत्नपार्क गेटमा पनि चिट्ठा बेच्नेले चिच्याई चिच्याई चिट्ठाको प्रचार गरिरहेको थियो । हामीले चिट्ठा बिक्रेतासँग एक घण्टाका लागि माइक दिन अनुरोध ग-यौँ तर उसले मानेन । हामीले अब यहाँ हाम्रो कार्यक्रम सुरु भएपछि तपाईंको चिट््ठा बिक्दैन । त्यसैले बरु केही पैसा लिनुहोस्, माइक दिनुहोस् भनी अनुरोध ग-यौँ तर उसले मानेन । ठीक ५ बजे कविता वाचनको कार्यक्रम सुरु भयो । भीड बढ्दै गयो । कविताका प्रत्येक पङ्क्तिमा श्रोताहरूले ताली बजाएर समर्थन जनाउँथे । पन्ध्र मिनेटजतिपछि चिठ्ठा बेच्नेले माइक लिएर आयो र भवानी दाइको हातमा माइक दिँदै भन्यो– यस्तो होला भन्ने मैले सोचेकै थिइनँ, मलाई माफ गरिदिनुहोस र यो माइक प्रयोग गर्नुहोस् । हाम्रो अनुरोध र पैसाले गर्न नसकेको काम कविताले ग-यो । यो कविताको शक्ति र सामथ्र्यको प्रमाण हो भन्ने लाग्यो । सडक कविता क्रान्तिको प्रभाव र सफलताको पहिलो उदाहरण थियो त्यो । सडक कविता क्रान्तिको प्रसङ्ग आउँदा यो घटना सम्झन्छु ।
सडक कविता क्रान्ति जोडतोडले अगाडि बढिरहेको थियो । श्रोताहरूको सङ्ख्यामा वृद्धि हुँदै थियो । बढ्दो उपस्थितिले आम जनतामा पारेको प्रभाव प्रमाणित गर्दै थियो । बसमा यात्रा गर्दा हामीलाई ‘आहो कविज्यू, आज तपाईंहरूको कार्यक्रम कुन ठाउँमा छ’ भनेर सोध्न थालेका थिए । दलहरूले गर्ने कार्यक्रममा भन्दा कविता सुन्ने श्रोताहरूको सङ्ख्या धेरै हुन्थ्यो । दलहरूले आफ्ना कार्यक्रममा उपस्थित भई कविता वाचन गरिदिन अनुरोध गर्दथे तर सडक कविता क्रान्ति कुनै दल विशेषसँग आबद्ध नभएकाले अस्वीकार गर्दथ्यौँ । आफ्नै गतिमा हाम्रो अभियान अगाडि बढिरहेको थियो र आम जनमानसमा सकारात्मक प्रभाव पार्दै थियो । यो कुरा पञ्चायती व्यवस्थाका ठेकेदारहरूलाई मन पर्ने कुरै भएन । हामीले कार्यक्रममा अर्को दिन कुन ठाउँमा हुन्छ भन्ने सूचना दिइन्थ्यो । यसै क्रममा दशौँ दिन पाटन ढोकाको कार्यक्रममा अर्को दिन असार ६ गते जाउलाखेल चौरमा कार्यक्रम हुने सूचना दिएर छुट्टियौँ । भोलिपल्ट आआफ्ना किसिमले निर्धारित समयमा त्यहाँ पुग्दा कार्यक्रम स्थलमा व्यापक पोस्टरिङ भएको पाइयो । पोस्टरमा ‘सडक कविता क्रान्ति मूर्दावाद, बहुदल मूर्दावाद, कविहरूलाई बोरामा हालेर बागमतीमा बगाउँछौँ,’ जस्ता नारा लेखिएका थिए । चौरको एक कुनामा दुई चार गुण्डा जस्ता देखिने युवाहरू जेडजोडले कराउँदै थिए– ‘यी कविहरूलाई आज ठेगान नलगाई हुन्न, के सम्झेका छन् यिनीहरू आफूलाई’ । एकछिन त डर पनि लाग्यो । कार्यक्रम सुरु हुने समयमा स्थनीय श्रोताहरू जम्मा हुन थाले । उनीहरूले भित्तामा टाँसिएका पोस्टर देखेर ‘को हो यी पोस्टर टाँस्ने ? हाम्रो टोलको बेइज्जत गर्ने ?’ भन्दै उत्तेजनामा आई पोस्टर च्यात्न थाले । केही मानिस कुनामा बसेका युवातर्फ आकर्षित भएको देखेर युवाहरू भागे । त्यसपछि चारैतिर स्थानीय युवाहरूको पहराभित्र कविता वाचन सुरु भयो र निर्विघ्न सम्पन्न भयो ।
साँच्चै आम जनताको साथ पाइयो भने कसैको केही लाग्दैन भन्ने अनुभव भयो । हामीले जनताकै चाहनाअनुसार काम गरेका रहेछौँ लाग्यो र अरू निडर भएर आत्मबलका साथ लागिरहन प्रेरित भयौँ । पछि थाह हुन आयो तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठको लगानीमा ती युवाहरू परिचालित रहेछन् ।
त्यसपछि केही दिन विभिन्न स्थानमा निर्विघ्नतापूर्वक सडक कविता क्रान्ति अगाडि बढिरह्यो । हजारौँको सङ्ख्यामा जनलहर उर्लेको देख्दा उत्साह र हौसला बढेर आइरहेको थियो । त्यसै क्रममा असार १८ गते बालाजुमा घटेको घटनाले अहिले पनि झक्झक्याउँछ । सो दिन बालाजुमा निर्धारित समयमा कविता वाचन सुरु भयो, कविहरू उत्साहसाथ कविता वाचन गरिरहेका थिए । समय ६ बज्न १५ मिनट मात्र बाँकी थियो अर्थात् कार्यक्रम सकिन पनि पन्ध्र मिनेट नै बाँकी थियो । एक जना मानिस आत्तिँदै हामी नजिकै आयो र ‘यहाँ कविहरू को हुनुहुन्छ भन्यो ।’ हामी ऊतर्फ आकर्षित भयौँ र सोध्यौँ– ‘किन र ? के भयो ? हामी हौँ कवि ! के भनेका थियौँ उसले– ‘म मिनीबसको ड्राइभर हुँ, ल ल तपाईंहरू फटाफट मिनी बस चढ्नुहोस ।’ हामी अलमलमा परेको देखेर उसले आदेशात्मक अनुरोध ग¥यो– ‘कस्तो कुरा नबुझेको भन्या, तपाईंहरूलाई कुट्न गुण्डाहरू आउँदैछन् के, भनेको मान्नुस् न भन्या, ल ल छिटो चढ्नुस् न चढ्नुस् ।’
हामीलाई पनि कुरा गम्भीर जस्तो लाग्यो र फटाफट कार्यक्रम सकेर मिनीबस चढ्यौँ । बस कुदाइहाल्यो । हामीले बसबाट छ सात गुण्डाहरू हातमा लठ्ठी रड लिएर केके फलाक्दै कार्यक्रम स्थलतर्फ जाँदै गरेको देख्यौँ । फर्कंदा ड्राइभरदाइले राम कहानी सुनाए– नियमित बस लिएर बालाजु पुगेर फर्कने पालो कुर्न नजिकै खाजा पसलमा चिया पिउँदै रहेछन् । त्यही पसलमा छ सात जना गुण्डा रक्सी पिउँदै आज यी कविहरूलाई राम्रैगरी पाठ पढाउनुपर्छ । बडो कविता सुनाउने भएका ! हेर साथी हो ६ बजे कार्यक्रम सकिन्छ, हामी चार पाँच मिनटअगाडि त्यहाँ पुग्छौँ । कार्यक्रम सकिएपछि श्रोता तितरबितर हुन्छन्, ठीक त्यहीबेला कविहरूलाई ठेगान लगाउनुपर्छ । उनीहरूको योजना सुनेर मेरो मन आत्तियो र तपाईंहरूलाई बचाउनुपर्छ भनी मेरो मनले भन्यो र म बस लिएर त्यहाँ पुगेको हुँ । अघि देख्नु भएन कसरी जाँदै थिए उनीहरू ?
ड्राइभरको कुरा सुनेर हामी स्तब्ध भयौँ । उसलाई धन्यवाद दियौँ । ठूलो विपत्बाट बचे जस्तो लाग्यो । आमजनतालाई केन्द्रमा राखेर कर्म गर्नेहरूलाई जनताले रक्षा गर्ने रहेछन् । जनताप्रति इमानदार रही काम गर्नेहरूलाई बडीगार्ड या सुरक्षाकर्मीको आवश्यकता नै पर्दैन रहेछ । अचेलका नेताहरूलाई अगाडि पछाडि सुरक्षाकर्मीको भीड लगाएर हिँडेको देख्दा अचम्म लाग्छ । जनताको विश्वास जितेर काम गर्ने हो भने नेताको सुरक्षा जनताले नै गर्ने रहेछन् । त्यसैगरी असार २३ गते दिउँसो बनेपामा कार्यक्रम चलिरहेको थियो । कवि कृष्ण प्रधान कविता वाचन गरिरहनुभएको थियो । त्यसपछि कवि हरिभक्त कटुवालको पालो थियो । उहाँ तयारीको क्रममा हुनुहुन्थ्यो त्यतिबेला । अल्झेर बाँसको खम्बामा ठोक्किन पुग्नुभयो । टाउको निधारनिर चोट लागेर रगत बग्न थाल्यो । संयोग पनि कस्तो ? ठीक त्यतिबेलै कृष्ण प्रधान कविताको पङ्क्ति पढ्दै हुनुहुन्थ्यो– अब यहाँ टाउकाहरू फुट्नुपर्छ । कस्तो संयोग ! एकातिर टाउको फुट्नुपर्छ भन्नु अर्कोतिर हरिभक्त कटुवालको टाउको फुट्नु ! सडक कविता क्रान्तिको एक महिनाको दौरानमा भएका यस्ता साना ठूला प्रसङ्गहरू सम्झनयोग्य छन् ।
सडक कविता क्रान्तिसँग प्रत्यक्ष एक सय पचासभन्दा धेरै कवि जोडिनुभएको थियो । एक महिनाको अवधिमा विभिन्न स्थानमा छत्तीस पटक कार्यक्रम भएको थियो । ती कार्यक्रममा साधारण मानिस त उपस्थित हुन्थे, विशिष्ट व्यक्तिको पनि उपस्थिति हुन्थ्यो । मलाई याद भएसम्म एक पटक श्री विश्वेश्वरप्रसाद कोइराला आउनुभएको थियो । त्यस्तै श्रीकृष्णप्रसाद भट्टराई र श्रीमनमोहन अधिकारी त पटक पटक आउनुहुन्थ्यो । उहाँहरू एउटा कुनामा उभिएर कविता सुन्नुहुन्थ्यो र चुपचाप जानुहुन्थ्यो । हाम्रो अभियान निरन्तर चलिरहेको थियो, सडकमा कहिले ढिस्कोमा, कहिले पर्खालमा, कहिले ड्रम र कहिले ठेलागाडामा चढेर कविता वाचन गरिरह्यौँ ।
कहिलेकाहीँ क्रार्यक्रम स्थल पुग्दा स्थानीय युवा साथीहरूले स्वतस्फूर्त रूपमा सानोतिनो मञ्च माइकको पनि व्यवस्था गर्नुहुन्थ्यो र जलपानको पनि । हाम्रोतर्फबाट त्यस्तो कुनै माग हुँदैनथ्यो । यातायात तथा लाग्ने अन्य खर्च कवि साथीहरूले व्यक्तिगत हिसाबले आफैँ तिर्नुहुन्थ्यो । दोस्रो दिन रत्नपार्कमा भएको कार्यक्रमदेखि नै एउटा माइकको आवश्यकताको महसुस गरिएको हो तर हामीसँग पैसा थिएन ।
हाम्रो कुनै संस्थागत स्वरूप थिएन र चन्दा आदि पनि उठाइँदैन थियो । त्यस्तैमा एक जना दाताले एउटा च्यालेन्चर माइक दिनुभयो । त्यही माइक कार्यक्रमको अन्त्यसम्म प्रयोग गरिरह्यौँ । यस प्रकार २०३६ जेठ २७ गते न्युरोडबाट सुरु भएको सडक कविता क्रान्तिको अभियान असार २७ गते न्युरोडमा सञ्चालित कार्यक्रमबाट नै उपत्यकाभित्र सञ्चालित पहिलो दौरको कार्यक्रमको समाप्ति भयो । अनि त्यस क्रान्तिसँग जोडिएका कविहरू आआफ्ना गृह जिल्ला फर्किएर जिल्लामा नै पुनः सडक कविता क्रान्तिको अभियान चलाएका थिए । ती जिल्लाहरूमा तनहँु, कास्की (पोखरा), भोजपुर, धनकुटा, धरान, सुनसरी, विराटनगर, झापा, भद्रपुर, लाहान, राजविराज, सिराहा, जनकपुर, वीरगञ्ज, रुपन्देही तथा पाल्पा तानसेनमा पनि क्रान्ति सम्पन्न भएका थिए ।
सडक कविता क्रान्तिसँग जोडिएका सबैको नाम उल्लेख गर्न नसकिए पनि केही नाम उल्लेख गर्न चाहन्छु । नामहरूले यस अभियानसँग जोडिएका साहित्यकारहरूको नेपाली साहित्यमा निर्वाह गरेको भूमिका प्रष्ट पार्छ भने अर्कोतिर वर्तमानमा ती साहित्यकारहरूको स्थान कस्तो छ भन्ने अध्ययन गर्न सकिन्छ । नामको साथमा दिइएको अङ्कले भाग लिएको पटक जनाउँछ भने पटकले सक्रियतालाई पनि सङ्केत गर्दछ । यो नामावली उपत्यकाभित्र सञ्चालित ३६ वटा कार्यक्रमलाई आधार बनाइएको हो । भवानी घिमिरे ३६, अशेष मल्ल ३६, गोविन्द गिरि प्रेरणा ३०, गगन विरही २९, वनमाली निराकार २९, किशोर पहाडी २६, भूमिनन्द देवकोटा २५, लव गाउँले २३, दिनेश सत्याल २२, हरिभक्त कटुवाल २१, रामेश्वर रिजाल २१, विधान आचार्य २०, ओममणि शर्मा १८, शैलेन्द्र साकार १७, मोहन कोइराला १६, शैलेन्द्र सिम्खडा १५, कणाद महर्षी १४, ओम शर्मा १४, ध्रुव सापकोटा १३, दीपक जोशी १३, भैरव निराशी १३, कृष्ण प्रधान १२, विनोद अश्रुमाली १२, दिव्य गिरि ९, कुमुद देवकोटा ८, विमल कोइराला ७, मीनबहादुर विष्ट ४, ऋषिराज बराल ३, विश्वविमोहन श्रेष्ठ ३, राजव ३, भीम उदास २, गोविन्द वर्तमान २, गोपाल पराजुली १, तोया गुरुङ १, दमन ढुङ्गाना १, वेञ्जु शर्मा १, मञ्जु तिवारी १, लीलाध्वज थापा १, ज्ञानुवाकर पौडेल १ (श्रोत भानु साहित्यिक पत्रिका) ।
यी नामबाहेक अरू धेरै व्यक्तिहरू यो अभियानसँग जोडिनुभएको छ । यति धेरै व्यक्ति जोडिएको पहिलो साहित्यिक आन्दोलन भएको छ । यो लेखका माध्यमले सडक कविता क्रान्तिका बारेमा सम्झिएका तर महìवपूर्ण परिघटनाहरूलाई लिपिबद्ध गर्नु पनि रहेको छ । मैले मेरो मनको एउटा कुनामा रहेका सम्झनाहरूलाई पाठकसमक्ष राख्ने प्रयास गरेको छु । यसमा केही तलमाथि भएको भए सडक कविता क्रान्तिसँग जोडिएका मित्रहरूले सल्लाह सुझाव दिनुहुन विनम्रतापूर्वक अनुरोध गर्दै बिदा हुन्छु ।
भैरहवा