शशिधर पराजुली
विराटनगर, माघ २३ गते । कोशी राजमार्गबाट भित्र छिर्नेबित्तिकै विराटनगर–४ को बनलौरीटोल पुगिन्छ । महानगरभित्रको यस बस्तीको दृश्यले यो सहर नै हो त भनी जोकसैको मनमा प्रश्न उठिहाल्छ ।
एकातिर पूर्वसांसद डा. सुनील शर्माको स्वामित्वमा रहेको नोबेल मेडिकल कलेजको विशाल संरचना छ, अर्कातिर डा. शेखर कोइरालाकी आमाको नाममा स्थापित ‘नोना कोइराला स्मृति प्रतिष्ठान’ को भव्य तर प्रायः सुनसान रहने भवन । त्यसैको छेउमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा २० करोड रुपियाँभन्दा बढीको लगानीमा अर्को भीमकाय भवन ठडिँदै छ ।
सत्ता, शक्ति र पहुँचका आधारमा ठडिएका यी विशाल संरचनाको ठिकमुनि एउटा यस्तो बस्ती छ, जसलाई यी भवनहरूले गिज्याइरहे झैँ लाग्छ । उराव (झाँगड), गडेरी र गिरी समुदायको बसोबास रहेको बनलौरी र गिरीटोलका झन्डै दुई सय घरधुरीमध्ये ९० प्रतिशत त कच्ची छन् । दुई घण्टा झरी पर्दा यो बस्ती जलमग्न हुन्छ । ढल छैन, सडकमा बिजुलीका नाङ्गा तार लत्रिएका छन् र सडक नै गाईवस्तु बाँध्ने गोठ जस्तो देखिन्छ ।
अहिले चुनावको माहोल छ । मोरङ–६ मा पर्ने यो बस्तीका कतिपय घरमा डा. शेखर कोइरालाका पोस्टरहरू अझै टाँसिएको छ । त्यसमा लेखिएको छ, “जनताको विश्वास फिर्ता ल्याउँछु ।” बस्तीका युवा र वृद्धहरूको मनमा भने ‘विश्वास’ भन्दा बढी ‘वितृष्णा’ पलाएको देखिन्छ ।
२१ वर्षीय काजल गडेरीले भर्खरै बिबिए (स्नातक) पूरा गर्नुभएको छ । शिक्षित युवाका लागि रोजगारी दिने नेताहरूको नारा उहाँलाई उडन्ते गफ लाग्छ । “मैले पढेर के पाएँ ? कतै जागिर खोज्न गयो भने पाँचसात हजार दिन्छु भन्छन् । महिनाको कलेज फी नै त्योभन्दा बढी थियो,” काजल भन्नुहुन्छ, “हाम्रा लागि न जागिर छ, न त सम्मान । अब त भोट हाल्नै जान मन छैन ।”
उहाँका काका अजय गडेरीलाई २०७४ सालको चुनावको एउटा वाचा अझै याद छ । डा. शेखर कोइरालाले सबैको फुसको छाना हटाएर पक्की घर बनाइदिने आश्वासन दिनुभएको थियो । “अहिलेसम्म न हाम्रो घर पक्की भयो, न त सडक नै बन्यो । स्वच्छ पानी पिउनसमेत पाइएको छैन,” अजयको गुनासो छ । इक्राहीका ७० वर्षीय फनकलाल पनि पछिल्लो अवस्थाप्रति सन्तुष्ट हुनुभएन । सिभिल इन्जिनियर पास गरेको छोरा ट्याक्टर चलाएर गुजारा चलाउनुपर्ने अवस्था रहेको भन्दै कसैले पनि देशका लागि काम नगरेको उहाँको गुनासो छ ।
विराटनगर–४, ५, ६ र १२ का किसानको व्यथा पनि उस्तै छ । खेतीको समयमा मल पाइँदैन, सिँचाइको प्रबन्ध छैन । सडकका खाल्टाखुल्टीले गाउँलाई झनै दुर्गम बनाइदिएको छ । विगतमा डा. शेखर कोइराला, लालबाबु पण्डित, विजयकुमार गच्छदार आदिलाई संसद्मा पठाएको मोरङ–६ ले यस पटक के गर्ला भन्ने चासो सर्वत्र छ । पिछडिएको बस्तीको अवस्थाले भने स्थानीयको मन यस पटक खलबलिएको छ । चुनावमा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्रकुमार राय, रास्वपाकी रुविना आचार्यसमेत गरी २० उम्मेदवार मैदानमा उत्रिनुभएको छ ।
बनलौरी, गिरीटोल, इक्राही र ज्वालाटोलका मतदाता अहिले पर्ख र हेरको अवस्थामा छन् । उनीहरूमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेभन्दा पनि आफ्नो बस्तीको ढल कहिले बन्छ र आफ्ना शिक्षित सन्तानले कहिले रोजगारी पाउँछन् भन्ने चिन्ता छ । नेताहरू गाउँ छिर्ने तरखरमा छन् तर मतदाता यस पटक पुराना आश्वासनमा मात्रै भुल्ने मुडमा देखिँदैनन् ।
निर्वाचनको मतपत्रमार्फत यहाँका नागरिकले आफ्नो आक्रोश व्यक्त गर्छन् या फेरि पुरानै आश्वासनमा विश्वास गर्छन्, त्यो त फागुन २१ ले नै बताउने छ । बस्तीको अवस्थाले भने नेताहरूलाई गम्भीर प्रश्न गरिरहेको छ– सत्ताका महलहरू ठडिँदै गर्दा गरिबको झुपडी कहिलेसम्म चुहिइरहने ?