• २३ माघ २०८२, शुक्रबार

निर्वाचन आचारसंहिता पालना गर्ने मुस्ताङका राजनीतिक दलको प्रतिबद्धता

blog

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रम । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तोकिएको आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको मुस्ताङका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले आयोजना गरेको आचारसंहिता पालना, व्यवस्था, अनुगमन र नियन्त्रण सम्बन्धमा आयोजित कार्यक्रममा तोकिएको आचारसंहिताको पालना गर्ने तथा अनुगमनलाई समेत प्रभावकारी बनाउन अनुरोध गरिएको थियो ।

कार्यक्रममा आचारसंहिता देखाउने दाँत जस्तै हुन नहुने, आचारसंहितमा तोकिएको खर्चभन्दा धेरै उम्मेदवारबाट हुने गरेको, चुनाव केन्द्रित धेरै नियमहरू पालना गर्न सकेमा उम्मेदवारलाई समेत राहत मिल्ने, निर्वाचन खर्चको परिचालन तथा अन्य गतिविधिहरु राजनीतिक दल, उम्मेदवारलाई समान लागू हुनुपर्नेमा साना दलका प्रतिनिधिको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले मतदानस्थलको अनुगमन, आवश्यक पूर्वाधार तथा अन्य तयारीका बारेमा जानाकरी गराउनुभएको थियो । मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेका इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ङुटुक गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन समेत उम्मेदवार हुनुहुन्छ । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार तीन सय २८ रहेका छन् ।