सुधा देव
भारदह (सप्तरी), माघ २३ गते । सप्तरीमा ९ हजार ७ सय ८९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने भएको छ । जिल्लाभरका विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्र गरी कुल ५८० वटा खोप केन्द्रमार्फत पाठेघरको मुखको क्यान्सरविरुद्धको नियमित एचपिभी खोप अभियान २०८२ माघ २५ गतेदेखि फागुन १० गतेसम्म दुई चरणमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार तथा जिल्लाका सरोकारवालासँगको बैठकमा कार्यालय प्रमुख डा. सतिशकुमार यादवले उक्त जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजाने १० वर्षका किशोरी, साथै गत आर्थिक वर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० मा अध्ययनरत छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई खोप दिइने छ ।
पहिलो चरण अन्तर्गत माघ २५ गतेदेखि छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, बलानबिहुल गाउँपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका र रुपनी गाउँपालिका गरी ९ वटा पालिकामा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणअन्तर्गत माघ २८ गतेदेखि सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, तिरहुत गाउँपालिका, अग्निसाइर कृष्णसवरन गाउँपालिका, महादेवा गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र राजविराज नगरपालिका गरी ९ वटा पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
बैठकमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) की प्रतिनिधि सरला न्यौपानेले पाठेघरको मुखको क्यान्सर, एचपिभी सङ्क्रमण, खोपको प्रभावकारिता तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी दिनुभयो । उहाँका अनुसार एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त, सुरक्षित र प्रभावकारी भएकाले किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यून हुन्छ । नेपालमा प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण १ हजार ३१३ जनाको मृत्यु हुने गरेको र प्रत्येक दिन औसत चार जना महिलाको मृत्यु हुने भएकाले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न एचपीभी खोप कार्यक्रम महत्त्वपूर्ण आधार भएको उहाँले बताउनुभयो ।
बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पाठेघरको मुखको क्यान्सर निवारणका लागि राज्यले ठुलो लगानी गरेको उल्लेख गर्दै खोपको सदुपयोग गर्न सबैले आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । कुनै कारणले खोप खेर नजाने व्यवस्था मिलाउन समेत उहाँले आग्रह गर्नुभयो ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जिल्ला समन्वय अधिकारी कुन्दन कर्णलगायतले विद्यालय केन्द्रित खोप कार्यक्रम सफल बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र सञ्चारकर्मीबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए ।