छविलाल पाण्डे
बुटवल, वैशाख २२ गते । साझेदारी तथा वैज्ञानिक वन व्यवस्थापन कार्यले वन संरक्षण प्रभावकारी देखिएको छ। यो कार्यक्रम लागू भएपछि वन संरक्षण हुनुका साथै स्थानीय जनताको जीवनस्तरमा समेत परिवर्तन ल्याएको बताइएको छ। १० वर्षअघि सैनामैना नगरपालिका–१० को लुम्बिनी साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको हो। वैज्ञानिक वन व्यस्थापनको काम गत दुई वर्षअघि खारेज गरिए पनि अहिले पुनः यसलाई दिगो वन व्यवस्थापनको नामबाट सञ्चालन गरिएको छ।
वनको कुल एक हजार ३२१ हेक्टर क्षेत्रमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममार्फत पुराना भइसकेका बुढा रुख काट्ने र तिनको स्थानमा साल प्रजातिका नयाँ बिरुवा रोप्ने गरिएको छ। जिल्ला वन कार्यालय, रुपन्देहीका प्रमुख प्रभात सापकोटाका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि वनमा धेरै काम गर्नुपर्ने हुन्छ। यसका कारण स्थानीय जनताको आम्दानीमा वृद्धिसँगै रोजगारीको अवसर प्राप्त हुन्छ।
वनमा रहेका बुढा रुख काट्ने, छटान गर्ने, वन सफाइ गर्ने, गोलिया बनाउने, घाटगद्दी गर्ने र वन खाली भएपछि नयाँ बिरुवा रोप्ने काम हुन्छ। यसका लागि वर्षैभरि स्थानीयवासी रोजगारीमा जोडिन्छन्।
प्रमुख सापकोटाले कार्यक्रम लागू भएपछि लुम्बिनी साझेदारी वन नजिकका स्थानीय १० देखि १५ जनाले रोजगारीको अवसर पाएका छन्। विपन्न परिवार वनसँग जोडिँदा स्थानीयको जीवनस्तर सुधार भई गरिबी निवारणमा समेत टेवा पुगेको उहाँले बताउनुभयो। यो कार्यक्रमअनुसार वनलाई विभिन्न ब्लकमा विभाजन गरेर प्रत्येक वर्ष एउटा ब्लकमा वन कटान गर्ने, अर्को ब्लकमा बिरुवा रोप्ने र हुर्काउने गर्दा ८० वर्षको समय जान्छ। साल प्रजातिलाई ८० वर्षे बालीचक्रमा आधार बनाएर प्रत्येक वर्ष एक/एकवटा ब्लकमा कटान, छटान र संरक्षणको काम हुने गरेको छ। यसबाट वनमा रहेका बुढा रुख हटेका छन् भने नयाँ बिरुवा हुर्काउने कामले पनि तीव्रता पाइरहेको छ। वैज्ञानिक वन व्यवस्थापन गरिँदा साल प्रजातिका रुखको सङ्ख्या बढ्ने गरेको छ।
उहाँले लुम्बिनी साझेदारीमा जस्तै अन्य वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गर्ने हो भने नेपालको वनले आम्दानीमा वृद्धि गर्नुका साथै रोजगारी दिने बताउनुभयो। जिल्ला वन कार्यालय रुपन्देहीका सब डिभिजन प्रमुख धनिश्वर पन्थीले लुम्बिनी साझेदारी वनमा कार्यक्रम लागू भएको १० वर्षको बीचमै वन संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो।
उहाँले वन व्यवस्थापनमा स्थानीय जनता, सरकार सम्बद्ध निकाय र सामुदायिक वन उपभोक्ता समूहको सक्रियताकै कारण दिगो वन व्यवस्थापनमा ठूलो सहयोग पुगेको बताउनुभयो। लुम्बिनी साझेदारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र चौधरीले वैज्ञानक वन व्यवस्थापन कार्यक्रम लागू हुँदा धेरै उपभोक्ताले भनेको बेला काठ दाउरा खरिद गर्न पाएको, स्थानीयको जीविकोपार्जनमा टेवा पुगेको, सामाजिक काममा समेत वनले धेरै सहयोग गरेको हुँदा वन संरक्षणका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो।