• २१ वैशाख २०८१, शुक्रबार

गोरखापत्र संस्थानमा रक्तदान

प्रेमसागर कर्माचार्यले गर्नुभयो १७४ औं पटक रक्तदान

blog

१७४ औं पटक रक्तदान गर्नुहुँदै प्रेमसागर कर्माचार्य (दायाँ) । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख २१ गते। 'रगतको महिमा अपरम्पार, रगत नै बुझ जीवनको आधार, आउ रक्तदान गरौं..’ रक्तदान सम्बन्धी जागरण गीतका रचनाकार प्रेमसागर कर्माचार्यले १७४ औं पटक  रक्तदान गर्नुभएको छ।  

गोरखापत्र संस्थानको १२३ औं वर्ष प्रवेशको उपलक्ष्यमा बिहीबार संस्थान परिसरमा आयोजित रक्तदान कार्यक्रममा स्वयमसेवी रक्तदाता कर्माचार्यले १७४ पटक रक्तदान गर्नुभएको हो। 

स्वयंसेवकले निःशुल्क प्रदान गरेको रगत बिरामीले पनि निःशुल्क नै प्राप्त गर्नुपर्छ भन्ने आवाज उठाउँदै आउनु भएका कर्माचार्यले रक्तदान सम्बन्धी देशव्यापी जागरण फैलाउन नेपाल स्वयंसेवी रक्तदाता समाजको गठन गरी काम गरिरहनु भएको छ। उहाँ हाल समाजको अध्यक्ष हुनुहुन्छ। 

अध्यक्ष कर्माचार्यले ‘रक्तदान, मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने नारासहित समाजले देशभर विभिन्न ३४ जिल्ला, नगर, गाउँ, वडा र एकाई समितिमार्फत्  रक्तदानका लागि प्रेरित गर्ने थुप्रै कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिनुभयो। 

उहाँले हालसम्म ल्याबमा बनाउन नसकिने मानिसको जीवन बचाउन अत्यावश्यक पदार्थ ‘रगत’ दानका लागि कम्तीमा एक परिवार, एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हुन आग्रह गर्दै हरेक व्यक्तिले आफ्नो १८ औं जन्म दिनदेखि रक्तदान गर्न सक्ने बताउनुभयो।

गोरखापत्रमा ३२ जनाको रक्तदान

गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेशको अवसरमा ३२ जनाले रक्तदान गर्नुभएको छ। गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाद्वारा बिहीबार संस्थान परिसरमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा उहाँहरूले रक्तदान गर्नुभएको हो। 


रक्तदान कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललगायत । तस्बिर : कविता थापा

संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, प्रशासन विभाग प्रमुख ओमप्रकाश भुसाल, पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेललगायतले रक्तदान गर्नुभएको हो। 

संस्थानमा कार्यरत कर्मचारी तथा पत्रकार गीता विश्वास, लक्की चौधरी (लोकबहादुर), श्यामकुमार थापा, राजेन्द्रप्रसाद उपाध्याय, हरिशोभा महर्जन, भिमनाथ फुँयाल, प्रतिक पन्त, शिवहरि अर्याल, ऋषिराम बास्तोला, रामराजा श्रेष्ठ, तेजप्रसाद जोशी, रिङ्कु झा, रवि घिमिरे,  हिमाल जिसी, प्रमोदकुमार टन्डन, बबिता कार्की, अर्जुन विष्ट, केशवप्रसाद सापकोटा, लक्ष्मी खतिवडा, मिना लामा, नायक पौडेल, निकेतन बोहोरा, अभि बलायर, अमिरमैया रञ्जित र दिनेश लुइटेलले रक्तदान गर्नुभएको हो।