काठमाडौं, वैशाख २१ गते । अमेरिकामा बसेर व्यावसायिक रूपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आइटिएफ) वरीयताको एक हजार ९३०औँ स्थानमा पर्नुभएको छ । अभिषेक आइटिएफ वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
सात आठ वर्षको उमेरमा पोखराकबाट खेल सुरु गर्नुभएका अभिषेक १५ वर्षमै नेपाल च्याम्पियन बन्नुभएको थियो । पढाई र खेललाई अगाडि बढाउन उहाँ १४ वर्षमा थाइल्यान्ड जानुभयो । त्यहाँ रहँदा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुभयो ।
भर्खरै काठमाडौमा सम्पन्न सिटिजन बैङ्क राष्ट्रिय खुला टेनिस प्रतियोगिताको च्याम्पियन बन्नुभएका अभिषेकले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसक्नुभएको छ ।
अभिषेकले हालसम्म नेपालबाट यू–१४ विश्व च्याम्पियनसिपको समूह २, आइटिएफको मेन ‘ड्र’ ग्रेड १ देखि ५, एसियाली खेलकुद र साग गेम्स समेत खेल्नुभयो । अभिषेक पछिल्लो सात वर्षदेखि अमेरिकामा कलेज स्तरीय प्रतियोगिता खेल्दै आउनुभएको छ ।
‘‘अबको लक्ष्य वरीयता सुधार गर्दै ओलम्पिक र ग्रान्ड स्लाम खेल्ने हो । वरीयतामा परेकोले विश्वभर खेल्नका लागि ढोका खुलेको छ । टेनिसमा राम्रो गर्ने अभियानमा छु । थप राम्रो गर्न स्पेन जाने तरखरमा छु,’’ अभिषेकले भन्नुभयो ।
उहाँको टेनिस यात्रालाई अहिलेसम्म परिवारको साथ रहेको छ । आगामी दिनमा अभिषेकलाई सहयोग गर्न नेपाल टेनिस सङ्घले पनि पहल गर्ने जनाएको छ ।