• ११ मंसिर २०८१, मङ्गलबार

ठेला व्यापारबाटै मनग्य आम्दानी

blog

बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेच्नुहुँदै भारत घर भएका राजकुमार साह । तस्बिर : रासस

अर्जुनधारा, वैशाख २१ गते । काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्दैन । वास्तवमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्नसके काम र दाम दुवै यहीँ छ । यसको उदाहरण हो बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरू ।

भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुर रोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक रु ७५ हजार कमाउनुहुन्छ । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेको साहले बताउनुहुन्छ । साँझपख अफिस सकेर धेरै कर्मचारी नास्ता खान आउने गरेको उहाँको भनाइ छ ।

भद्रपुर रोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आउनुभएका कृष्ण साहले पनि दैनिक दुई/तीन हजारको व्यापार गर्ने गरेको बताउनुहुन्छ । ठेला व्यापारबाटै उहाँको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । दाजुले वर्षौँदेखि गर्दै आएको ठेला व्यापार विगत पाँच वर्षबाट कृष्णले सम्हाल्नुभएको हो ।

ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ ।

झापाको बिर्तामोड पछिल्लो समय तीव्र गतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । बिर्तामोडको चोकचोक, गल्ली गल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सीता साह बताउनुहुन्छ । उहाँ दैनिक एक सय ५० भन्दा बढीलाई पानीपुरी चटपटे खुवाउनहुन्छ ।

घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बिएण्डसी हस्पिटल अगाडि ठेलामा जुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउनुहुन्छ । भारतको विहारका उहाँ गर्मी सुरु भएपछि ठेलामा जुस बेच्ने गर्नुहुन्छ । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।

ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता बिर्तामोडमा ठेलाको व्यापार गर्दै आउनुभएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउनुहुन्छ । उहाँले गत वर्षदेखि कहिले फलफूल, कहिले उखुको जुस तथा कहिले सागसब्जी बिक्री गर्दै आउनुभएको छ । रासस