• २० वैशाख २०८१, बिहिबार

गोरखापत्रको १२३ वर्षोत्सव

संस्थानमा रक्तदान सुरु : रक्तदान, जीवन दान

blog

रक्तदान कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललगायत । तस्बिर : कविता थापा

काठमाडौं, वैशाख २१ गते । नेपाली छापा पत्रकारिताको गौरवमय इतिहास बोकेको गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेशको अवसरमा आज (बिहीबार) गोरखापत्र संस्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

गोरखापत्र प्रकाशनको १२३ वर्ष तथा गोरखापत्र संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थान र नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । 

रक्तदान कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाललगायतले रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रम जारी रहेको जानकारी नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेलले दिनुभयो । 

लगभग सवा शताब्दी पाठकलाई निरन्तर योगदान दिएको गोरखापत्र नेपालको सूचना क्रान्तिको जग मात्र होइन, दक्षिण एसियामै सय वर्ष नाघेको सीमित अखबारमध्ये एकसमेत हो ।  

वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशन सुरुवात भएको हो ।

नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन वैशाख २४ को यो ऐतिहासिक दिनलाई  सम्मान गर्दै  सरकारले राष्ट्रिय पत्रकारिता दिवससमेत मनाउन थालेको छ । यसले गोरखापत्र र यसका प्रकाशनले आम पाठकमा पुर्‍याउँदै गरेको योगदानलाई राज्यले थप संस्थागत गरेको छ । 

निश्चय नै उदारवादी राणा प्रधानमन्त्री देवशमशेरले छापा पत्रकारिताको कल्पना र त्यसलाई यथार्थमा परिणत गर्नु त्यस बेलाको सानो योगदान होइन । 

सनद लेखी पण्डित नरदेव पाण्डेलाई जिम्मेवारी दिएको लगभग दुई सातामै  विक्रम संवत् १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशन आरम्भ हुनु त्यति बेलाको चमत्कार हो  ।