• ९ मंसिर २०८१, आइतबार

फरक स्वादको उत्कृष्ट जीवनी पुस्तक

blog

नेपाली साहित्यका जीवनी विधा अत्यन्त कम लेखिने साहित्यिक विधाहरूमध्ये एक हो । त्यसमा पनि लेखकको जीवनका विभिन्न पाटा, घटना, प्रभाव र योगदानलाई तत्कालीन व्यक्ति, लेखकका विचार र सम्बद्ध प्रकाशित सामग्रीसमेतका आधारमा तयार गरिएको जीवनीकृति त अत्यन्त कम छ भन्दा पनि फरक पर्दैन । लेखकले बताएका कुराका आधारमा लेखिएका जीवनीकृति नै नेपाली भाषा–साहित्यमा अधिकाधिक देखिन्छन् । तर गोविन्द गिरी पे्ररणाको कलमबाट सिर्जना गरिएको सुश्री पारिजात नेपालीमा प्रकाशित अन्य जीवनीकृतिहरूभन्दा फरक, बेग्लै र पृथक् रूपमा नेपाली साहित्यका पाठकसमक्ष आएको छ ।

गोविन्द गिरी पे्ररणा नेपाली पाठकहरूका लागि नौलो नाम होइन । कविता, कथा, उपन्यास र निबन्धका क्षेत्रमा उनको कलम चल्न थालेको पनि चार दशक भइसकेको छ । ३० को दशकका एक अत्यन्त सक्रिय स्रष्टाका रूपमा नेपाली साहित्यमा बेग्लै पहिचान बनाइसकेका गोविन्द गिरी पे्ररणा यस कृतिमार्पmत जीवनीकारका रूपमा देखिएका छन् र उनको यो व्यक्तित्व पनि उत्तिकै प्रभावशाली बन्न पुगेको छ । 

पारिजात नेपाली साहित्यका बहुचर्चित साहित्यकार हुन् । उनका बारेमा धेरैले विद्यावारिधि गरिसकेका छन् भने कतिपयले सिङ्गो कृति नै प्रकाशित गरिसकेका छन् । उनका बारेमा लेखिएका फुटकर रचनाहरू त गनिसाध्य छैन । तर उल्लिखित सबै कृति र फुटकर रचनाभन्दा फरक ढङ्गले लेखिएको सुश्री पारिजात कृतिले पारिजातको परिचय मात्र गराउँदैन, उनको बाल्यजीवन, लेखनतर्पmको रुचि, पारिवारिक अवस्था, साथीसँगीहरूसँगको सम्बन्ध, लेखनयात्रा, सङ्घर्ष, आनीबानी, पे्रम, यौन सम्बन्ध र मृत्युसम्मको प्रमुख घटनालाई अत्यन्त कलात्मक र जीवन्त रूपमा प्रस्तुत गर्छ । यसमा ‘दार्जिलिङ ः छेकुडोल्मादेखि विष्णुकुमारी वाइबा’, काठमाडौँका सुरुवाती दिन, ‘जीवन सङ्घर्ष र पराश्रयबाट स्वआश्रयतिर’, ‘राल्फा युग र पारिजात’, कथायात्रा, आरोप, प्रगतिवादी लेखन, ‘पारिजात र राजनीति’, ‘सम्पादन, अनुवाद र स्तम्भलेखन’, आनीबानी, पारिजातको साहित्यिक दृष्टि, विविध संलग्नता र चिरनिद्रामा गरी १३ शीर्षक छन् । यी शीर्षकअन्तर्गत रहेर जीवनी लेखक गोविन्द गिरी पे्ररणाले पारिजातको समग्र जीवनलाई पाठकसमक्ष राखिदिएका छन् ।  

एउटी सामान्य परिवारमा जन्मिएकी बालिका विष्णुकुमारी वाइबाको पारिजातसम्मको यात्रालाई यस कृतिमा अत्यन्त कलात्मक ढङ्गमा आलेखन गरिएको छ । परम्परागत ढङ्गमा लेखिने जीवनीभन्दा बेग्लै प्रस्तुति यस कृतिको विशेषता हो । हुन त यो आख्यानेतर गद्यको कृति हो तर यो कृतिको पठनको क्रममा पाठकले कुनै विशिष्ट आख्यानकृति पढिरहेको अनुभव गर्छ । पारिजातको जीवनलाई प्रभाव पार्ने विशिष्ट घटनाहरूलाई अतिरञ्जित नगरी विभिन्न सन्दर्भसामग्रीसमेतका आधारमा प्रामाणिक ढङ्गले प्रस्तुत गरेर जीवनीकारले जीवनी लेख्दा विचार पु-याउनुपर्ने र संवेदनशील हुनुपर्ने पक्षतिर पनि जीवनीलेखकको ध्यानाकर्षण गरेका छन् भन्न सकिन्छ । विषयवस्तु प्रस्तुतिका क्रममा यस कृतिमा कतै वर्णनात्मक र कतै विवरणात्मक शैली पनि नभएका होइनन् तर त्यस्तो प्रस्तुति विषयलाई स्पष्ट रूपमा पाठकसमक्ष सम्पे्रषण गर्नुपर्ने कारणले प्रयोग गरिएका छन् । यस कृतिमा जीवनीकार कतै आख्यानकारजस्तो, कतै निबन्धकारजस्तो, कतै समालोचकजस्तो अनि कतै कविजस्तो देखापर्छन् । एउटै कृतिमा अनेक विधाको स्वाद पाइने यो कृति विधाभञ्जनको एक महìवपूर्ण नमुना पनि हो । 

दार्जिलिङबाट नेपाल आएपछि पारिजातले गर्नुपरेका सङ्घर्षहरूलाई जीवनीकारले अत्यन्त मर्मस्पर्शी भाषामा राखेका छन् । पारिजात र सुकन्याले एउटै कपडा पालैपालो लाउनुपर्ने बाध्यतात्मक यथार्थ पढेर पाठकका आँखा अनायासै रसाउँँछन् भने पहिलो पे्रमी धनुवीर मुखियालाई जीवनबाट अल्ग्याएपछिको उनको पीडाले द्रवीभूत तुल्याउँछ । बहुचर्चित उपन्यास शिरीषको पूmलको भूमिका र शङ्कर लामिछानेसँगको सम्बन्ध, राल्फा आन्दोलनमा सक्रिय सहभागिता, प्रगतिवादी लेखनतर्पmको यात्रा, राजनीतिमा सक्रियताजस्ता विषयहरूले त्यसबेलाको नेपाली राजनीति र साहित्यको एउटा स्पष्ट चित्र पनि यस कृतिका माध्यमबाट पाठकले प्राप्त गर्न सक्छ । पारिजात अन्य महिला साहित्यकारभन्दा लेखनमा मात्र नभई आनीबानी, विचार र जीवनशैलीका दृष्टिले पनि फरक थिइन् भन्ने तथ्यलाई पनि यस जीवनीपुस्तकले स्पष्ट पार्छ । उनी चुरोट पिउँथिन्, रक्सी खान्थिन् । पुस्तकमा रहेको आनीबानी शीर्षकको अध्यायले उनका जीवनका बारेमा धेरै थोक बताउँछ । 

यस कृतिको सुन्दर पक्ष हो, पारिजातको यौनजीवनबारे अत्यन्त संयमित भाषामा गरिएको प्रस्तुति । जीवनमा पहिलो पे्रमीलाई उनले कहिल्यै बिर्सन नसकेको घटनादेखि उनको यौनपीडालाई पनि यस पुस्तकले उनकै स्वीकारोक्तिसहित प्रस्तुत गरेको छ । यस अर्थमा यो कृति पारिजातको जीवनको साङ्गोपाङ्गो चित्रण गर्ने विशिष्ट कृति बन्न पुगेको छ । विसङ्गतिवादी र अस्तित्ववादी लेखनबाट क्रमशः उनी प्रगतिवादी वैचारिक लेखनतर्पm एकोहोरिएपछि उनको लेखन फरक हुन थाल्यो र त्यो आलोचनाको विषय पनि बन्यो । अरूले आलोचना गर्नु त ठीकै थियो तर उनी प्रगतिवादी खेमाकै लेखक समालोचकहरूबाट बढी प्रताडित भएको तथ्य पनि यस पुस्तकबाट थाहा पाइन्छ । उनका सिर्जना र विचारमाथि भएको प्रहारलाई यस जीवनीकृतिले सन्दर्भ र तथ्यहरूसहित प्रामाणिक ढङ्गमा अघि सारेको छ ।

जीवनी कृति भनेको कुनै विशिष्ट व्यक्तिको प्रशंसा र सकारात्मक कुराको वर्णनात्मक प्रस्तुति मात्रै हो भन्ने भ्रमबाट जीवनीकार गोविन्द गिरी पे्ररणा पूर्ण मुक्त छन् भन्ने कुराको प्रमाणका रूपमा पनि यस कृतिलाई लिन सकिन्छ । करिब २० वर्ष लामो खोज, अनुसन्धान र सामग्री सङ्कलनपछि मात्र यो कृति प्रकाशित भएको लेखकको स्वीकारोक्ति रहेको छ । यसबाट पनि कृतिका लागि जीवनीकारको मिहिनेत, धैर्य र आसक्ति देखिन्छ । पुस्तकको अर्को महìवपूर्ण पक्ष यसमा रहेको सन्दर्भसूची पनि हो । यसमा पुस्तक तयार गर्न सहयोग लिइएका पुस्तक, स्मृतिग्रन्थ र विशेषाङ्क, पत्रिका, अखबार र पत्रपत्रिकामा प्रकाशित पारिजातका रचनाका साथै अन्तर्वार्ता लिइएका व्यक्तिहरूको सूची पनि दिइएको छ । यसमा भएका नौ पृष्ठको अनुक्रमणिका र आठ पृष्ठका तस्बिरहरूले कृतिलाई थप वजनदार बनाउन मद्दत पु¥याएको छ ।

यति लेखिसकेपछि पुस्तकको नामको बारेमा पनि चर्चा गर्न आवश्यक छ । यस कृतिका नाममा पारिजातको अगाडि ‘सुश्री’ नराखिएको भए राम्रो हुन्थ्यो भन्ने यस पङ्क्तिका लेखकको विचार छ । हुन त पारिजात शीर्षकमा अन्य पुस्तकहरू प्रकाशित भएकाले फरक बनाउन यसो गरिएको हुनसक्छ । तर फरक देखाउनका लागि पारिजातको नामअघि अरू कुनै शब्द राख्न सकिन्थ्यो । अर्को कुरा, सन्दर्भसूचीबारे । अन्तर्राष्ट्रिय रूपमै पनि सन्दर्भसूची राख्ने एउटा छुट्टै विशेष प्राज्ञिक तरिका छ । यस कृतिमा त्यो तरिकाको प्रयोग भएको देखिँँदैन । सन्दर्भसूची न वर्णानुक्रमअनुसार राखिएको छ, न त मितिका आधारमा । यसले पाठकलाई आपूmलाई चाहिएको कृति वा लेखक खोज्न समय लाग्छ । यस्तै अनुक्रमणिकामा पनि केही नाम छुटेका छन् । तथापि यी सामान्य कमजोरी हुँदाहुँदै पनि विषय, प्रस्तुति र भाषाका साथै प्रामाणिकताका दृष्टिले यो कृति नेपाली जीवनीसाहित्यकै उत्कृष्ट कृतिका रूपमा छ भन्न दुविधा मान्नुपर्दैन । कृतिका लागि जीवनीलेखक गोविन्द गिरी पे्ररणालाई जति धन्यवाद दिए पनि कम नै हुन्छ । उनले लेख्ने अठोट गरेका शङ्कर लामिछाने र भूपि शेरचनको जीवनीग्रन्थ पनि निकट भविष्यमा नेपाली पाठकले पाउने विश्वास लिनु सान्दर्भिक नै होला ।