• ४ असार २०८२, बुधबार

चिप्स उत्पादक कम्पनीले किसानबाट किन्यो आलु

blog

किसानबाट उत्पादित आलु ढुवानी गरिँदै । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदाता

लमजुङ, असार ४ गते । लमजुङका दुई वटा स्थानीय तहबाट तीन सय मेट्रिक टनभन्दा बढी प्रशोधनयोग्य आलु बिक्री भएको छ । निर्वाहमुखी खेती गर्दै आएका राइनास र मध्य नेपाल नगरपालिकाका कृषकले व्यावसायिक रूपमा प्रशोधनयोग्य आलु खेती गरी उक्त आलु बिक्री गरेका हुन् ।

आलुको बजार सुनिश्चित गर्न उत्पादन गर्नुपूर्व नै किसान र व्यावसायिक कम्पनीबिच सम्झौता भएको थियो । सम्झौताबमोजिम भैरहवास्थित आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाइस फुड प्रालिले उत्पादित आलु खरिद गरेको हो ।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षदेखि कृषि ज्ञान केन्द्र लमजुङमार्फत कृषकलाई व्यावसायिक आलु खेतीका लागि उत्पादनमा आधारित अनुदानसहित प्रोत्साहन गरेको थियो । व्यावसायिक आलु खेतीका लागि प्रवर्धनात्मक कार्यक्रम आएसँगै राइनास र मध्यनेपालका कृषकले पाँच सय बढी रोपनी जमिनमा व्यावसायिक रूपमै हिउँदे आलु खेती गरेका हुन् ।

कृषकले उत्पादन गरेको आलु घरायसी प्रायोजनका लागि आवश्यक मात्रामा राखेर तीन सय मेट्रिक टनभन्दा बढी बिक्री गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । उहाँका अनुसार राइनास र मध्य नेपालबाट मात्रै ३०७.७५ मेट्रिक टन आलु बिक्री भएको हो । राइनासबाट मात्रै दुई लाख ६० हजार ७५० किलो आलु बिक्री भएको छ ।

बिक्री भएकोमध्ये एक लाख ८८ हजार पाँच सय किलो आलु कार्यालयको समन्वयमा चिप्स बनाउने कम्पनीले खरिद गरेको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक अनिल तिवारीले बताउनुभयो । सोबाहेक राइनासबाट ७२ हजार २५० किलो र मध्यनेपालबाट ७० हजार किलो आलु स्थानीय बजारमा बिक्री भएको छ । 

प्रदेश सरकारले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत यस वर्ष राइनाससहित जिल्लाका विभिन्न स्थानीय तहमा आलु खेती कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक आलु खेतीका लागि कृषि ज्ञान केन्द्र लमजुङमार्फत जिल्लाको राइनास नगरपालिका–४, ५ र ६, मध्यनेपाल नगरपालिका–२ अन्तर्गत कृषक समूहसँग सम्झौता भएको थियो । कृषि ज्ञान केन्द्रले कृषकका लागि आलुको बिउ व्यवस्थापनदेखि बजार व्यवस्थापनसम्मको सहयोग गरेको थियो । जिल्लामा हिउँदे आलु उत्पादन कार्यक्रमका लागि एक करोड सात लाख ९९ हजार रुपियाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।