• ६ जेठ २०८१, आइतबार

पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

blog

काठमाडौँ, वैशाख २० गते । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। भुटानी शरणार्थीको नक्कली कागजपत्र बनाई अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार रहेको खुलेपछि राईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राई पक्राउ परेको जानकारी दिनुभयो। अनुसन्धान जारी रहेकाले प्रहरीले अन्य व्यक्तिको विवरण खुलाएको छैन।

२०७४ फागुनमा गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका बादलले २०७७ असार २९ गतेसम्म गृह मन्त्रालय सम्हाल्नुभएको थियो। त्यसैबेला तत्कालीन गृहमन्त्री बादलले सुरक्षा सल्लाहकारको जिम्मेवारी द्वन्द्वविज्ञका रूपमा परिचित राईलाई दिनुभएको थियो। अमेरिका, क्यानडालगायतका मुलुकमा जान छुटेका भुटानी शरणार्थीको पहिचान गर्न तत्कालीन ओली सरकारले २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। 

कार्यदलले पेस गरेको प्रतिवेदनमा राईलगायतका गिरोहले नक्कली भुटानी शरणार्थी भनेर झापा, मोरङ, सुनसरी, कास्की, बागलुङलगायतका जिल्लाका ८१ भन्दा बढी नक्कली शरणार्थीको नाम थपेको थियो। ती व्यक्तिबाट झन्डै पाँच करोड रुपियाँ असुलीमा राईको संलग्नता खुलेको प्रहरीले दाबी गरेको छ।

पीडितको उजुरीमा राईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, तत्कालीन गृहसचिवलगायत राजनीतिक दलका नेतासमेतलाई मिलाउनुपर्ने भन्दै प्रतिव्यक्ति १५ देखि २५ लाख रुपियाँसम्म असुल गरेको दाबी अनुसन्धानमा संलग्न प्रहरीको छ। सोही प्रकरणमा संलग्न राईका छोरा निरज राईविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भइसकेको छ। पक्राउ पर्ने डरले निरज नेपालबाहिर पुगेको आशङ्कापछि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। प्रहरीले राईको नाममा रहेका बैङ्क खाता रोक्का गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भएका कारोबारमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीको अनुसन्धानमा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यो गिरोहले १३ करोड ६३ लाख रुपियाँ ठगी गरेको खुलेको छ। यो गिरोहले हालसम्म रकम असुल गरेका कसैलाई पनि अमेरिका पठाएको छैन।