• १३ मंसिर २०८१, बिहिबार

कुमाल समुदायको पेसा

कतै विस्थापित, कतै जीवन गुजारा

blog

रेखीराम राना/लीलाधर वली 

पाल्पा/दाङ, वैशाख १९ गते  । बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित बनेका छन्। परम्परादेखि नै माटाका भाँडा बनाउँदै आएका बगनासकाली चिर्तुङ्धाराका ५० घरका कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेर अन्य पेसामा लागेका छन्। 

माटाका भाँडा बिक्री हुन छाडेपछि उनीहरू ज्यालामजदुरी, घर बनाउने काममा लागेका हुन्। परम्परादेखि नै माटाका भाँडा बनाउने पेसा गर्दै आएका कुमाल समुदायका सबैजसो मानिस आफ्नो परम्परागत पेसाबाट विस्थापित बनेको स्थानीय बासिन्दाले बताएका छन्। 

बजारमा प्लास्टिकका भाँडा आएपछि कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेको स्थानीय खुमबहादुर कुमालले बताउनुभयो। उहाँले भन्नुभयो, “माटाका भाँडा बिक्न छाड्यो, अन्य पेसा नगरी जीविको चलाउन सकिएन।” 

एक÷डेढ दशकअघिसम्म यहाँका अधिकांश कुमाल समुदायले माटाका भाँडा बनाएर बिक्री गर्ने प्रचलन थियो तर अहिले माटाका भाँडा बनाएर पनि बिक्न गाह्रो भएको उहाँले बताउनुभयो। 

भाँडा बनाए पनि अहिले प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको कुमाल समुदायको भनाइ छ। बजारमा सस्तो प्लास्टिकका भाँडा पाएपछि कुमाल समुदायले बनाएका हाँडी, मटिया, खुत्रुके, घैँटा आदि बिक्री हुन छाडेको बगनासकाली–१, घोरबन्दाका ओमबहादुर कु्मालले बताउनुभयो। 

ओमबहादुरले भन्नुभयो, “अब गाउँमा माटाका भाँडा बनाउने म एक्लै छु अरू सबैले भाँडा बनाउन छाड्नुभयो।” पहिले माटाका भाँडा बनाएर जीविकोपार्जन गर्नेहरू सबै आफ्नो परम्परागत पेसाबाट विस्थापित बनेको उहाँले बताउनुभयो। 

माटाका भाँडा बनाउन आवश्यक कच्चा पदार्थ कालो माटोको अभावले पनि माटाका भाँडा बनाउन धेरै गाह्रो भएको उहाँहरूको बुझाइ छ। बढ्दो आधुनिकता र प्लास्टिकका भाँडाको प्रयोगले माटाका भाँडा बनाउने पेसालाई व्यावसायिकीकरण गर्न नसकेको ती समुदायका बासिन्दा बताउँछन्। माटाका भाँडा बनाउने काम तथा सीपलाई कुनै पनि निकायबाट सहयोग नहुँदा पनि यो पेसालाई निरन्तरता दिन समस्या भएको स्थानीय कान्छी कुमालले बताउनुभयो। 


माटाका भाँडा बिक्न छाडेपछि यहाँका सबैजसो परिवार तानसेन, बुटवल तथा विदेशमा समेत मजदुरीका लागि जाने गरेका छन्। अहिले तानसेनमा मात्रै मजदुरी गर्न जानेको सङ्ख्या एक सयभन्दा बढी रहेको स्थानीय बासिन्दा मुक्ति बस्यालले बताउनुभयो। पहिले माटाका भाँडा बनाउने काम गरेका परिवार सबैजसो उक्त पेसाबाट विस्थापित बनेको उहाँले बताउनुभयो। 

यसैबीच दाङ देउखुरीको हुलाकी सडकसँगै जोडिएको कुमालगाउँमा आर्थिक रूपमा विपन्न परिवारका करिब ५० घरपरिवार यही माटोमा जीवन खोज्ने काम गर्दै आएका छन्। गढवा गाउँपालिका–१ निवासी माटोका भाँडा बनाउने व्यवसायी कालीदेवी कुमालले भन्नुभयो, “हामी माटोबाट भाँडा बनाएर जीवन गुजाराको माध्यम बनाउँदै आएका छौँ। कुमाल समुदायको पुख्र्याैली पेसा यही हो। जीवन जिउने माध्यम पनि हो।” 

तर पछिल्लो समय उत्पादन गरिएका माटाका सामग्रीको बजार कम हुँदै जाँदा चिन्तासमेत लाग्ने गरेको उहाँ बताउनुहुन्छ। कालीदेवीले भन्नुभयो, “तिहारको समयमा पालालगायतका माटाका भाँडा बिक्ने गर्छन् तर अन्य समयमा खासै हुँदैन।” तिहारको समय जस्तै बाह्रै महिना बिक्री हुन सके राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ।   

गढवा गाउँपालिका–१, पत्रिगाँकै ६८ वर्षीय गाजुराम थारू कुमाल पनि माटाका भाँडा बनाउने काम गरेर जीवन चलाउँदै आउनुभएको छ। पुख्र्र्यौली पेसाका रूपमा रहेको माटोबाट भाँडा बनाउने व्यवसाय कम भए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ। 

माटोबाट बनेका पालादेखि करुवा, गमला, गैँटालगायतका सामग्री पछिल्लो समय बिक्रीका लागि सहज भएको उहाँ बताउनुहुन्छ। गाजुरामले भन्नुभयो, “पहिले बजारसँगै घरघरमा बिक्रीका लागि माटाका भाँडा लैजानु पथ्र्यो तर अहिले घरबाटै बिक्री हुने गर्छन्।” अन्य समयको तुलनामा माटाका सामग्री तिहारमा धेरै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ। माटाका भाँडाको विकल्पमा स्टिल तथा प्लास्टिकका भाँडा प्रयोग हुने गरेकाले पहिलेको तुलनामा अहिले व्यापार कम भएको बताउनुहुन्छ। 

माटोबाट गमला, पैना, करुवा, पाला, खुत्रुके, घैँटालगायतका सामग्री बनाएर बिक्री गर्दै आउनुभएको छ। यसरी उत्पादन गरिएका माटाका भाँडा देउखुरीसँगै दाङ, प्युठान, रोल्पा र कपिलवस्तुलगायतका जिल्लाका विभिन्न ठाउँमा पठाउने गरेको बताउनुहुन्छ। 

माटाका भाँडा बिक्रीका लागि समस्या नभएको अर्का स्थानीय ताराबहादुर कुमाल बताउनुहुन्छ। एक समय स्टिल तथा प्लास्टिकका भाँडाले गर्दा माटाका भाँडाको बिक्री कम भए पनि पछिल्लो समय राम्रो रहेको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “माटाका भाँडा बनाउन सके बिक्रीमा समस्या छैन।” पहिले बोकेर बिक्रीका लागि गाउँगाउँ हिँडेर जानुपथ्र्यो तर अहिले त्यसरी जानुपर्दैन। उत्पादन गरिएका माटाका भाँडा घरबाटै बिक्री हुने गरेका छन्।