• २२ असार २०८२, आइतबार

स्वास्थ्य बिमा प्रभावकारी बन्दै

blog

मुकुन्द सुवेदी

बर्दिया, वैशाख १९ गते  । बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा सहज र प्रभावकारी भएपछि बिमा गर्नेको सङ्ख्या बढेको छ। स्वास्थ्य बिमा बोर्ड बर्दियाका अनुसार जिल्लामा हालसम्म एक लाख २२ हजार २५८ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। २०७४ असोज ६ गतेबाट बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो। 

स्वास्थ्य बिमा बोर्ड बर्दियाका दर्ता अधिकारी डिकेन्द्रबहादुर विष्टले स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो। स्वास्थ्य संस्थाबाट सहज रूपमा सेवा पाउने र स्थानीय सरकारले बिमालाई प्राथमिकतामा राखेर आफ्ना नागरिकको बिमा गर्न बजेट विनियोजन गर्ने गरेका कारण बिमा प्रभावकारी भएको बताउनुभयो। 

दर्ता अधिकारी विष्टले लुम्बिनी प्रदेशका जिल्लाहरूमध्ये बर्दियामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी र स्वास्थ्य सेवा प्रदान गर्नेमा अगाडि रहेको दाबी गर्नुभयो। गुलरिया नगरपालिका–४ का अमरराज लम्सालले परिवारमा कोही बिरामी पर्दा लाग्ने स्वास्थ्य जाँचको शुल्क र औषधि उपचार बिमाबाट हुने भएकाले वार्षिक ५० हजार बराबरको बचत हुने गरेको बताउनुभयो। 

गुलरिया नगरपालिका–९ का प्रमोदकुमार लोधले बिमा गरेपछि औषधि उपचार सेवा लिन सजिलो भएको बताउनुभयो। उहाँले कम शुल्क तिरेर पनि धेरै सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा प्रभावकारी भएको बताउनुभयो। 

स्वास्थ्य बिमा वोर्ड बर्दियाका अनुसार बिमा कार्यक्रम लागू भएपछि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा एक लाख १५ हजार छ सय एक जनाले स्वास्थ्य बिमा गरेको पाइएको छ। चालु आर्थिक वर्ष २०७९/८० मा थप छ हजार छ सय ५७ जनाले बिमा गरेका छन्।