बुटवल समाचारदाता
बुटवल, वैशाख १९ गते । कालोपत्रे भएको बाटोमा हिँड्ने सपना बुनेर रुपन्देहीको कञ्चन गाउँपालिका–५ का बासिन्दा लाखाैँ रकम उठाएर निर्माण गरेको सडक एक वर्ष नपुग्दै भत्केको छ।
कञ्चन गाउँपालिका–५ को शिव मन्दिरदेखि शान्तिबजार जाने सडक कालोपत्रे गरिएको एक वर्ष नपुग्दै भत्किएपछि ऋण काढेर रकम सङ्कलन गरेका यहाँका बासिन्दाले बनाएको बाटोको सपना चकनाचुर भएको छ।
करिब पाँच सय मिटर सडक गत वर्ष यही समयमा कालोपत्रे गरिएको थियो। स्थानीय बासिन्दाले घरआँगनकै सडक कालोपत्रे हुने भएपछि भैँसी बेचेरै जग्गाको क्षेत्रफलअनुसार लागेको रकम जम्मा गरेको बताएका छन्।
स्थानीय बासिन्दाले उपभोक्ता समिति गठन गरी २०७८ साल चैत २९ गते निर्माण सुरु गरेर सडक कालोपत्रे गरेका थिए। सडक बनाउन करसहित २६ लाख १८ हजार पाँच सय १० रुपिया खर्च भएको थियो। यो सबै रकम स्थानीय बासिन्दाले हरेक घरघरबाट सङ्कलन गरेका हुन्।
स्थानीय समाजसेवी रामप्रसाद आचार्यका अनुसार बाटो कालोपत्रे हुने भएपछि एक जना उपभोक्ताको २५ हजारदेखि ९० हजारसम्म खर्च भएको थियो। उहाँले सडक निर्माण भएको वर्षदिन नहुँदै भत्किएपछि स्थानीय बासिन्दा चिन्तित भएको बताउनुभयो।
बाटोकै कारण अहिले साह्रै दुःख पाएको पौडेलको गुनासो छ। सडक बनाउँदा स्थानीय जनताले जग्गाको क्षेत्रफलअनुसार मिटरले नापेर तोकिएको रकम प्रदान गरेको बताएका छन्। अर्कोतर्फ हिउँदमा पिच गर्नुपर्नेमा बर्खा लागेर पिच गरिएकोमा उनीहरूको चित्त दुखाइ छ।
उता सडक निर्माणको क्रममा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पराजुलीले कालोपत्रे गर्दा प्रयोग गर्नुपर्ने सामग्रीका विषयमा आफूहरूलाई जानकारी नभएको बताउँदै इन्जिनियरले नापजाँच गरेर पास गरेको बताउनुभयो। उहाँले सडक निर्माण सम्पन्न भएपछि रकमको भुक्तानी दिएको बताउँदै सडक गुणस्तरहीन भएको विषयमा आफूहरू अन्योलमै रहेको दाबी गर्नुभयो।