मानव उद्विकासका क्रममा कुकुरको विकास मानिसको निकटको सहयोगीका रूपमा भएको छ । मर्यादापालक र आफ्नो मालिकप्रति वफादार हुने भएकाले कुकुरका बारेमा अनेकौँ किस्सा पनि सुनिने गरेका छन् ।
‘बायोलोजी लेटर्स’ जर्नलमा प्रकाशित अनुसन्धानले निकै पहिलेका कुकुरको अवशेषबाट उपलब्ध डीएनए परीक्षणका आधारमा विश्लेषण गर्दा मानिसको साथमा कुकुर रहँदै आएको नौ हजार वर्ष पुगेको देखाएको छ । युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डीएनएको परीक्षणबाट यो तथ्य पत्ता लागेको थियो ।
फ्रान्सको रेन विश्वविद्यालयका डा. मोर्गेन ओलिभियले युरोपमा बसाइँसराइका बेला कुकुर मानिसको पछि लागेको देखिएको उल्लेख गरेका छन् । मानिसको बसाइ मध्यपूर्वबाट युरोप र एसियातर्फ फैलिँदा कुकुर पनि सँगै रहेको अनुसन्धानले देखाउँछ ।
यस्तै महाभारतकालमा कुकुर र मानिसको प्रगाढ सम्बन्ध थियो । युधिष्ठिरले स्वर्ग जाँदा कुकुरलाई सँगै लगेको पौराणिक तथ्य छ । साथै कुकुरलाई भैरवको वाहनका रूपमा लिने गरिन्छ ।
नेपाली समाजमा कुकुरले घरको रेखदेख गर्ने तथा हिमाली भेगमा भेडागोठालाको काम गर्दै आएको छ । अपराध अनुसन्धानमा पनि कुकुरले सघाउने गर्दछ । सन् १९५७ मा सोभियत सङ्घले अन्तरिक्षमा लाइका नामक कुकुरलाई पठाएको थियो ।
मानिसको पीडा कुकुरलाई अनुभूत हुन्छ भनिन्छ । मान्छेको खुसी र दुःखलाई महसुस गर्न सक्ने खुबी कुकुरमा हुने भएकाले नै होला मानिस र कुकुर नजिकिएका ।
विगतमा सुरक्षाका लागि कुकुर पालिने गरिएकोमा पछिल्लो समय कुकुर पाल्नु सोख भएको छ । यससँगै बजारमा कुकुरको किनबेच हुन थालेपछि यसमा व्यावसायिक लगानीका बाटा समेत खुलेका छन् । कुकुरको छाउरा÷छाउरी, तिनको आहारा र प्रयोगमा आउने सामानका लागि अचेल करोडौँ रुपियाँको कारोबार हुन्छ ।
नेपालमा पहिले विदेशबाट नयाँ नश्लको कुकुरका छाउरा÷छाउरी मगाउनुपर्ने बाध्यता थियो । विदेशबाट छाउरा÷छाउरी ल्याउँदा अनेकौँ समस्या हुने भएकाले हुन सक्छ अचेल नेपालमै विभिन्न प्रजातिका कुकुर किन्न पाइन्छ । सामान्यतया नेपालमा विदेशबाट ल्याएर वा स्वदेशमै उत्पादन गरी ४५ भन्दा बढी जातका कुकुर पालिएको छ । ठूला जातका कुकुरमा अल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोबेरम्यान, ल्याब्रोडर, बक्सर र बुलडगजस्ता प्रजाति छन् ।
नेपालमा पाइने साना जातका कुकुरमा जापानी स्पिज, ल्हासा आम्लो धेरैको रोजाइमा पर्छ । ककर स्पानियल, पग, डचसन्ड, सेन्ट बर्नान्डजस्ता प्रजातिका कुकुरको उत्पादन नेपालमै हुने गरेको छ । आयातित कुकुरमा बुलडग, ग्रेडेन सेन्ट ब्रनाई र अट्यालर महँगा खालका कुकुर हुन् ।
जहाँ माग बढ्छ त्यहाँ लगानी पनि बढ्ने गरेको प्रमाण नेपालमा खुलेका केनल क्लबले देखाउँछ । नेपालमा दुई सयभन्दा धेरै केनल क्लबले कुकुर र कुकुरलाई आवश्यक पर्ने खानेकुरा तथा उपचारमा आवश्यक सामग्री बिक्री गरिरहेका छन् । नेपालमा न्यूनतम पाँच हजारदेखि बढीमा तीन लाख रुपियाँ पर्ने कुकुर पाइन्छन् ।
जापानी स्पिजको मूल्य न्यूनतम पाँच हजारबाट सुरु हुन्छ । महँगो कुकुर हो बुल डग । यस कुकुरको मूल्य डेढदेखि तीन लाख रुपियाँसम्म पर्दछ ।
होम डेलिभरीको सुविधा
पठाओ, दराजजस्तै अनलाइन सेवामार्फत उच्च नश्लका कुकुरका छाउरा÷छाउरी अर्डर गरेको ४८ घण्टाभित्र ७७ जिल्लामै होम
डेलिभरी हुन्छ । अन्नपूर्ण क्यानल, काठमाडौँका गोविन्द बस्ताकोटी अहिले प्रायःजसो कुकुरका बच्चा नेपालमै पाउन सकिने दाबी गर्छन् । राम्रो जातको कुकुर पाल्नेले बच्चाको आमा र बुबा पहिचान गरेपछि मात्रै किन्ने गर्दछन्, बनेपा पेट कियरका सुमन चौप्रधानको भनाइ छ ।
नेपालमा कुकुरको बच्चाको वार्षिक ५० करोड रुपियाँको कारोबार हुने गरेको छ । सामान्यतया कुकुर जन्मिएको ६० दिनपछि मात्रै बेच्ने गरेको जानकारी दिन्छन् चौप्रधान । अनलाइनबाट कुकुर डेलिभरी गर्ने र कुकुरको स्याहारसुसार गर्ने काममा नेपालमा १० हजारभन्दा धेरैले रोजगारी पाएका छन् ।
मेटिङ गराएबापत बच्चा उपहार
धेरैले भाले कुकुर नै रुचाउँछन् । पोथी कुकुरको तुलनामा भाले कम आक्रामक हुने भएकाले धेरैको रुचि भाले कुकुर पाल्नमा हुने गर्छ । पोथी कुकुर पाल्नेले उच्च नश्लको भाले कुकुरसँग ‘मेटिङ’ गराएबापत पोथी सुत्केरी भएपछि भाले कुकुरको मालिकलाई एउटा बच्चा उपहार दिनुपर्ने हुन्छ । यो प्रचलन नेपालमा चलिआएको छ । पोथी कुकुर वर्षमा दुई पटक सुत्केरी हुन सक्छ ।
अग्रिम मूल्य तिरेपछि मात्रै कुकुरको डेलिभरी
कुकुर बिक्रेताले अनिवार्य रूपमा ५० प्रतिशत पेस्की खातामा जम्मा भएपछि मात्रै कुकुरको डेलिभरी गर्न थालेका छन् ।
वास्तविक भोटेकुकुर पाउनै मुस्किल
मोटो हुनेबित्तिक्कै भोटेकुकुर ठान्ने परम्पराले गर्दा नेपालको रैथाने भोटेकुकुरको वास्तविक पहिचान पाउन सकेको छैन । वास्तविक भोटेकुकुर पाएमा हजारौँ रुपियाँ खर्चने मानिस हुन्छन् तर ठिमाह खालको भोटेकुकुर नै बढी बेचबिखनमा छ ।
हावापानी सुहाउँदो र बलियो भएकाले नेपालको भोटेकुकुर भरपर्दाे हुन्छ तर कुन कुकुर भोटे हो र कुन ठिमाह कुकुर पालकलाई नै थाहा छैन ।
भोटे जातका कुकुर रिसाहा, आक्रामक हुनुका साथै अति इमानदार स्वभावका हुन्छन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक रहेको छ । नेपालबाहिर भोटेकुकुरको एउटा छाउरा÷छाउरी कम्तीमा १२ सय अमेरिकी डलरमा किनबेच हुने गरेको छ ।
पशु बिमामा पर्दैनन् कुकुर
नेपालमा व्यावसायिक रूपमा कुकुर पालन हुन थालेको २० वर्षभन्दा धेरै समय भए पनि कुकुरलाई अझै अन्य पशुसरहको व्यवहार भएको छैन । सरकारले केही वर्षअघि बाली तथा पशु बिमा कार्यक्रम अघि बढायो तर यो योजनाले कुकुर पालनलाई सम्बोधन गरेको छैन ।
दानामा भने पूरै परनिर्भर
नेपालमा कुकुर कारोबार वार्षिक एक अर्ब रुपियाँभन्दा धेरैको हुन थाले पनि कुकुरका लागि करोडौँ रुपियाँको दाना भारतबाट आयात हुने गरेको छ । भारतीय दाना उत्पादक कम्पनीहरू डुल्स र पेडिग्रीका दाना नेपालमा धेरै खपत हुने गरेको छ । नेपाली कम्पनीका पेट फुडले करिब १० प्रतिशत जति बजार हिस्सा ओगटेका छन् ।
कुकुर पाल्दा ध्यान दिने कुरा
अचेल सहरी क्षेत्रमा सोखका लागि कुकुर पाल्नेको सङ्ख्या बढिरहेको छ । गाउँमा भने घर र आफ्ना पशुको सुरक्षाका लागि कुकुर पाल्ने नै बढी छन् ।
कतिपयले कुन जातको कुकुर पाल्ने भन्ने कुराको ज्ञान नलिई कुकुर पाल्न थालेपछि समस्या देखिने गरेको छ । केही समय पाल्ने र त्यसपछि स्याहार गर्न सक्दैनन् र बाटोमा लगेर छाडिदिने गर्दा समस्या बढिरहेको छ ।
सन्तुलित आहारा तथा उमेरअनुसार भिटामिन र क्याल्सियमको मात्रा मिलाएर कुकुरलाई आहारा दिनुपर्छ ।
सामान्य कुकुरकै खर्च दैनिक पाँच सय
विदेशी नश्लका कुकुरलाई बिहान बिस्कुट, त्यसपछि खानामा अनिवार्य मासु र डगफुड खुवाउनुपर्ने हुन्छ । कुकुरले बिहान र साँझ खानामा भैँसीको मासु बढी रुचाउँछन् । आहारामा सामान्यतया दैनिक डेढ सयदेखि पाँच सय रुपियाँ खर्च हुने गर्छ । नेपालमा अहिले महिनाको ३० देखि ३५ टन डगफुडको माग छ ।
बनेपाका पशु प्राविधिक एवं सञ्चालक सुमन चौप्रधानका अनुसार कुकुरले जथाभावी दिसा पिसाब ग¥यो, फोहोर बनायो, रैँं झ¥यो, जुत्ता–चप्पल टोक्यो, धेरै भुक्यो भनेर साङ्लोले बाँध्ने र खोरमा थुनेर राख्नु गलत हो । कुकुर पाल्नु पहिले त्यसको व्यवस्थापनका बारेमा पहिले नै सोच्नुपर्ने उनको भनाइ छ ।
कुकुरको सरसफाइ
कुकुरलाई दिनमा दुई पटक कपाल कोरिदिनुपर्छ । सफा गरिदिने भन्दै धेरै पटक नुहाइदिँदा कुकुरलाई चिसो लाग्छ । छ महिनाभन्दा अगाडि नै कुकुरबाट गन्ध आइरहेको छ भने ड्राइबाथ गराउन सकिन्छ । कुकुरका लागि नुहाइदिने स्याम्पु र साबुन प्रयोग गर्न सकिन्छ तर धेरै भने प्रयोग गर्नुहुँदैन ।
कुकुरलाई लाग्ने रोग र लगाउनुपर्ने खोप
जुकाको रोग, रेबिज, कोरोना भाइरस, छालासम्बन्धी रोग, ब्याक्टेरियाको सङ्क्रमण र क्यानिन डिस्टेम्परजस्ता रोग कुकुरलाई लाग्छ । कुकुरलाई रोग लाग्नबाट बचाउन सरसफाइमा ध्यान दिनेबाहेक अनिवार्य रूपमा खोप लगाउनुपर्छ ।
रेबिज, क्यानिन डिस्टेम्परलाई कुकुर जन्मिएको ४५ दिनभित्र, कोरोना भाइरसविरुद्धको खोप ७० दिन पुगिसकेपछि लगाउनु पर्छ ।
कुकुरको रौँ व्यवस्थापन
वर्षमा दुई पटक मौसम बदलिँदा कुकुरको रौँ झर्ने गर्छ । पटकपटक कपाल कोरिदिने र आहारमा सन्तुलन मिलाउन सकियो भने कुकुरको रौँ झर्न कम हुन्छ ।
कुकुरको खानेकुराको कुरा गर्दा बुझ्नुपर्ने कुरा के छ भने मानिसले आफ्ना लागि पकाएको तरकारीको झोल भात कुकुरलाई दिने गर्छन् तर तेल, नुन, मसला मिसाइएको खानेकुरा कुकुरका लागि हानिकारक हुन्छ । यसैगरी चकलेट वा चिनीयुक्त खानेकुरा, बोसो, घिउ, पकाएको मासुको हड्डी कुकुरलाई विषाक्त मानिन्छ । अङ्गुर, एभोकाडो पनि कुकुरलाई दिनै हुन्न ।